सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, ८० हजार पुग्नसक्ने



काठमाडौं : पछिल्लो दिनहरुमा सुनको मूल्यले नयाँ –नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार मात्रै एकैदिन पाँच सयले बढेको सूनको मूल्य ७८ हजार १ सय पुगेको छ ।

सुन चाँदी व्यवसायी महासंघले बुधबार तोलाको ७७ हजार १ सय तोकेको थियो भने बिहीबार प्रतितोला ७७ हजार ३ सयमा कारोबार भएको थियो ।

चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको द्वन्दका कारण सुनको मूल्य आकाशिएको थियो । यी ठूला राष्ट्रहरुको अर्थतन्त्रमा आएको असरका कारण बढेको सूनको मूल्य फेरि चीनमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक असरले सूनको मूल्य एकाएक उचाइमा पुग्न थालेको हो ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको असर देखिन थालेको छ । विकसित अर्थतन्त्रका कैयौं कारखाना पनि बन्द भएका छन् । यसले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न थालेपछि नेपालमा पनि सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

सुन चाँदी व्यवसायी महासंघले नेपालमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान लगाएको छ । महासंघका अनुसार नेपालले पनि सुन अन्तर्राष्ट्रिय बजारबाट नै खरिद गरी आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य निर्धारण हुन्छ नेपालमा पनि सोही अनुरुप मूल्य निर्धारण गरिन्छ ।

महासंघका मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले नेपालमा सुनको मूल्य प्रतितोला ८० हजारसम्म पुग्न सक्ने बताएका छन् ।

यसैगरी, सूचना प्रविधिसम्बन्धी संसारकै सबैभन्दा ठूलो कम्पनी एपल इन्कले आगामी दिनमा आफ्नो नाफा घट्न सक्ने जोखिम औंल्याएपछि सुनको भाउ झनै चर्किएको हो ।

पृथ्वीभर नै औद्योगिक कच्चा पदार्थको सबैभन्दा ठूलो आपूर्तिकर्ता चीन नै संकटमा परेको अवस्थामा सूनको मूल्यमा धनिमानीले लगानी बढाउने र यसले झनै मूल्यमा उचाइ बढाउने अर्थविद्हरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्