तेलको भाउ बढ्यो



लन्डन : बिहीवार विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । चीनले अर्थतन्त्रमा सुधारको लागि ल्याएको कार्यक्रम, कोभिड–१९ को संक्रमणमा देखिएको कमी र भेनेजुयला तथा लिबियाको तेल आपूर्तिमा देखिएको आशंकाले तेलको भाउ बढेको हो ।

बिहीवार यो समाचार तयार पार्दासम्म बेलुका पौने ८ बजे अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल १८ सेन्ट बढेर ५८ डलर ९० सेन्टमा पुगेको थियो । त्यस्तै वेस्ट टेक्सास इन्टरमिडियटको भाउ प्रतिब्यारेल ४४ सेन्ट बढेर ५३ डलर ९३ सेन्टमा पुगेको थियो । चीनले बिहीवार ऋणको व्याजदर घटाउने निर्णय गरेसँगै तेलको भाउले पनि टेवा पाएको हो । अहिले नयाँ कोरोना भाइरस (कोभिड–१९) को मारमा परेको अर्थतन्त्रमा सुधारको लागि चीनले यस्तो योजना अघि सारेको हो ।

यो भाइरसको कारण चीनको माग सुस्ताइरहेको छ । साथै चीनको तेल उपभोगमा पनि उल्लेख्य कमी आएको छ । चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हो । बुधवार चीनमा कोभिड–१९ का नयाँ संक्रमितको संख्या पनि ३४९ मा झरेको छ । यो दुई सातायताकै कम हो ।

अमेरिकाले यसै साता रूसी तेल कम्पनी रोस्नेटलाई भेनेजुयलाको तेल कम्पनीसँगको सम्बन्धको कारण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्