पूर्वडिएसपी खिउजूले पीडित युवतीलाई भने ‘प्लिज नरिसाऊ, मेरो इज्जत बचाइदेऊ ’



काठमाडौं: शान्तिसुरक्षाको दायित्व बोकेको प्रहरीले नै नागरिकमाथि अत्याचार गर्छ भने कहाँ जाने न्याय माग्न ? यस्तै पीडा भोग्दै आएकी छिन् महांकाल गाउँपालिकाकी २१ वर्षीया शोभा शर्मा (नाम परिर्वतन) ले ।  जागिरको सिलसिलामा उनी विभिन्न ठाउँमा भौँतारिइन् । अन्तमा एक कम्पनीमा सेक्युरिटी गार्डको अवसर आयो । कम्पनीले उनलाई जागिर खान प्रहरी रिपोर्ट आवश्यक पर्ने बतायो । त्यसैले उनी ०७५ मंसिरमा चापागाउँ प्रहरी वृत्त पुगिन् । त्यहाँ उनले आफ्नो समस्या सुनाइन् । वृत्तमा कार्यरत एक प्रहरीले प्रहरी उपरीक्षक राजकुमार खिउजूलाई भेट्न सल्लाह दिए । उनी डिएसपी खिउजूको क्याबिनमा पुगिन् । 

डिएसपी खिउजूसँग उनले आफूलाई जागिरका लागि प्रहरी रिपोर्ट आवश्यक परेको बताइन् । खिउजूले पुलिस रिपोर्ट जावलाखेलस्थित महानगरीय प्रहरी परिसरले बनाउने बताए । त्यसका लागि आफूले सहयोग गर्ने आश्वासन दिए । खिउजूले एक प्रहरीलाई चिया ल्याउन निर्देशन दिए । ती प्रहरी जवानले चिया लिएर आए । चिया पिउँदै गर्दा खिउजूले क्याबिनको ढोका लक गरी युवतीको मुख थुनेर कपडा फुकाली जबर्जस्ती करणी गरे ।

युवतीले प्रतिकारको प्रयास गरिन्, तर सकिनन् । उनले पुलिसमा रिपोर्ट गर्ने बताइन् । तर, खिउजूले चलाखीपूर्ण तरिकाले करणीको भिडियो रेकर्ड गरे । त्यो भिडियो प्रयोग गरी आफूलाई ६ महिनासम्म बारम्बार करणी गरेको युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । भिडियो सार्वजनिक हुने डरले युवती तत्कालै प्रहरीमा जान सकिनन् । खिउजूले कहिले आफ्नो कोठामा त कहिले क्याबिनमै लगी करणी गरेको युवतीको भनाइ छ । खिउजूले आफूसँग करणीको भिडियो क्लिप रहेकाले घटनाबारे कसैलाई बताए वा कतै उजुरी गरे सार्वजनिक गर्ने धम्की दिएको उनले बताइन् । भिडियोकै आडमा ६ महिनासम्म दिनको चार/पाँचपटकसम्म करणी गरेको युवती बताउँछिन् ।

केही समयपछि डिएसपी खिउजूको सरुवा भयो । उनी विराटनगर पुगे । सरुवापछि मात्र युवतीले उन्मुक्ति पाइन् । एकदिन फेसबुकमा दाङका पत्रकारलाई घटनाबारे सबै खुलाइन् । ती पत्रकारले काठमाडौंमा रहेका अर्का पत्रकारको सहयोगबाट महिला अधिकारकर्मीलाई सुनाइदिएपछि चापागाउँ बलात्कार घटना बाहिरिएको हो । घटना थाहा पाएलगत्तै एक महिला अधिकारकर्मीले युवतीलाई लिएर महानगरीय प्रहरी वृत्त टेकु पुगिन् । उनीहरूले प्रहरीलाई घटनाबारे विस्तृतमा भने । प्रहरीले प्रमाण माग गरेबमोजिम युवतीले आफ्नो मोबाइलमा भएका सबै रेकर्ड देखाइन् । तर, प्रहरीले घटनाको सबै अडियो, भिडियो हेरेपछि जबर्जस्ती मोबाइल खोसेर ती सबै प्रमाण डिलिट गरिदिएको पीडित युवतीले दुःखेसो पोखिन् । जाहेरी दिने क्रममा खिउजूको फोन आएको र उनकै आग्रहमा भिडियो र अडियो नष्ट गरिएको पीडित युवतीले बताइन् ।

राजीनामा दिएर फरार
गत २२ माघमा पीडित युवतीले डिएसपी खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिइन् । ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दियो । तर, उनी अहिलेसम्म फरार छन् । पीडित युवतीले भने प्रहरीले खिउजूलाई पक्राउ गर्न ढिलाइ गरेको दाबी गरेकी छिन् । पीडित युवती भन्छिन्, ‘जाहेरी हालेको दुई साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन् ।

बरु उल्टै आफ्नो बचाउ गर्दै विभिन्न अनलाइन न्युज पोर्टलमा अन्तर्वार्ता दिँदै हिँडेका छन् ।’ उनले काठमाडौंको एक अनलाइन च्यानलमा अन्तर्वार्ता दिएको भिडियो सार्वजनिक भएको छ । प्रहरी वृत्त चापागाउँका पूर्वडिएसपी खिउजूले ०७५ सालको विभिन्न समयमा  युवतीलाई यौन दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा खिउजू, उनकी पत्नी, छोरीसमेत मिलेर पीडितलाई धम्की र प्रलोभनमा पारेको भनिएको छ । 

प्रहरीले भने खिउजूको खोजीकार्य जारी रहेको बताएको छ । खिउजूलाई पक्राउ गर्न एउटा टिम बनाएर अगाडि बढेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । ‘प्रहरीले एउटा टिम नै बनाएर खिउजूको खोजीकार्य जारी राखेको छ । उनलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याएरै छाड्छौँ । पूर्वप्रहरी भएकाले अनुसन्धान प्रक्रिया उनलाई थाहा हुन सक्छ, त्यसैले समय लागेको हो,’ राईले भने  । दुई महिनाअघि नै पदबाट राजीनामा दिएर उनी फरार भएको प्रहरीको भनाइ छ । राष्ट्रिय मानवअधिकार आयोगले जबर्जस्ती करणीजस्तो आपराधिक घटनामा फास्ट ट्रयाकबाट पीडितलाई न्याय दिनुपर्ने बताएको छ । ‘जबर्जस्ती करणीजस्तो अपराधको घटनालाई प्रहरीले दु्रत मार्गबाट पीडितलाई न्याय दिलाउनुपर्छ,’ आयोगकी आयुक्त मोहना अन्सारीले भनिन् ।

प्रहरीले जाहेरी लिन नमानेको पीडितको आरोप 
गत २२ माघमा अधिकारकर्मीसहितको टोली प्रहरी परिसर जावलाखेल पुगेर डिएसपी खिउजूविरुद्ध जाहेरी दर्ता गर्न खोजे । तर, प्रहरीले जाहेरी लिन नमानेपछि पीडितसहितको टोली र प्रहरीबीच केहीबेर वादविवाद भएको थियो । लगत्तै, परिसर प्रमुख टेकप्रसाद राईलाई भेटेर जाहेरी दर्ता भयो । परिसर प्रमुख राईले आपराधिक घटनाको जाहेरी लिन प्रहरीले नमानेको विषय सत्य नभएको बताए । ‘आपराधिक घटनामा प्रहरीको जिम्मेवारी मुद्दा दर्ता गर्ने नै हो । हामीले किन पीडितलाई फर्काउने ? मलाई तत्काल जानकारी गराउनुपथ्र्यो । हामीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएका छौँ,’ उनले भने ।

पूर्वडिएसपी खिउजूले पीडित युवतीलाई  जाहेरी फिर्ता लिन गरेको फोन कुराकानी :प्लिज नरिसाऊ, मेरो इज्जत बचाइदेऊ 

युवती : घरीघरी किन फोन गर्छस् तँ ? 
खिउजू : नानु, सुन सुन म सातदोबाटो आउँछु । 
युवती : तैँले जहाँजहाँ भनिस्, म त्यहीँ आउने म तेरो को हो हँ ? अब म तँलाई छोड्दै छोड्दिनँ । 
खिउजू : सुन, सुन तिमीले जे भने पनि मान्छु ।
युवती : तेँले जेसुकै भने पनि मान्दै मान्दिनँ, गड प्रमिस मान्दिनँ । तैेँले त धेरैचोटि कसम खाइस्, थाहा छ । तँ आफँै गल्ती गरेर मेरो कोठामा सुत्न आएको भन्ने ? 
खिउजू : सुन, सुन तिमीले भनेको मान्छु । तिमीकहाँ आउँछु ल । अहिले टाढा छु । जसरी भए पनि म एक घन्टाभित्र तिमीलाई भेट्न म आउँछु, जसरी भए पनि आउँछु । 
युवती : तँलाई म एक सेकेन्ड पनि भेट दिन्नँ । म किन भेट्छु, म यहाँ सरहरूसँग छु (प्रहरी) । जेसुकै गर, मलाई केही पनि फरक पर्दैन । तैँले गरेको गल्तीको सजाय तँलाई नदिई छोड्दिनँ । 
खिउजू : सुन, सुन मलाई कारबाही गरेर तिमीलाई के हुन्छ, भन त ? तिमीलाई राम्रो हुन्छ ?  
युवती : हुन्छ, हुन्छ । तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ । तैँले अर्काकी छोरीलाई गरेको व्यवहार, तैँले गर्दा मेरो कहीँ पनि ठाउँ छैन बुझिस्, तैँले जे बोल्दा नि जे गर्दा नि हुन्छ, यहाँ ? 
खिउजू : तिमीले भनेको मान्छु । तिमी त्यहाँबाट आऊ ल भन, तिमीलाई कहाँ भेटूँ, ल भन । म आउँछु । 
युवती : मैले यहाँ आएर निवेदन दिइसकेपछि तँसँग म मिल्छु ? तैँले अर्काकी छोरीलाई जे गरे पनि हुन्छ ? 
खिउजू : नानु, सुन सुन आवेशमा आएर भनेँ होला । निवेदन नदेऊ । तिमीले भनेको सबै मान्छु ल । 
युवती : म कुनै पनि कुरा मान्दिनँ, मसँग मिल्ने कुरै नगर् ल । मसँग मिल्ने कुरै नगर ?
खिउजू : प्लिज, प्लिज तिमीले जे भन्यो त्यही मान्छु । प्लिज, प्लिज । जे भन्यो त्यहीँ मान्छु निवेदन फिर्ता लेऊ । 
युवती : कसम मान्दिनँ, म तैँले भनेको म केही पनि मान्दिनँ । फोन राख् । अब म ब्ल्याकलिस्टमा फोन राखिदिन्छु । मलाई फोन नगर् । तँसँग कन्ट्याक्ट हुँदिनँ । तँसँग म मुद्दामा आएर भेट्छु । तेरो केही कुरा पनि सुन्दिनँ । 
खिउजू : त्यसो नभन, तिमीले भनेको सबै मान्छु । 
युवती : तेरो कुरा मान्दा तैँले मलाई पेलेको होस् । तैँले जे–जे भन्यो, त्यही मान्दा तैँले मलाई यसो गरेको होस् । 
खिउजू : तिमीले भनेको मान्छु, तिमीले भनेजसो गर्छु । प्लिज, प्लिज नरिसाऊ, मेरो इज्जत बचाइदेऊ । 
युवती : तँ जहाँसुकै गएर जेसुकै बोल् मलाई मतलब छैन । तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ । त्यत्ति हो, मलाई चाहिएको । 
खिउजू : तिमी आफैँ भन न मलाई कारबाही गरेर तिमीलाई के फाइदा हुन्छ, भन त ?
युवती : तँलाई कारबाही गरेर मेरो जिन्दगी फर्किन्छ । मलाई तैँले जति रुवाएको छस्, तँलाई कारबाही गर्दा म त्यति नै खुसी हुन्छु ।  
खिउजू : त्यसो नभन । तिमीले जहाँ भने पनि म आउँछु ल । 
युवती : मलाई के मतलब, तेरो के वास्ता छ र मलाई ?
खिउजू : कसम तिमीले भन्या मान्छु प्लिज, प्लिज ।
युवती : भगवान् कसम मान्दिनँ ल । मैले भनिसकेँ, तँलाई कारबाही नगरी म छोड्दै छोड्दिनँ । तैँले गरेको गल्तीको सजाय पाउनैपर्छ । 
खिउजू : तिमीले जे सजाय दिए पनि भोग्न तयार छु । मलाई बदनाम नगर ।
युवती : मैले तँलाई किन बदनाम गर्ने ? प्रहरीबाट केही भएन भने म रवि दाइकोमा जाने हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विजय कार्कीले लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्