बुलीका कारण आफ्नो जीवन अन्त्य गर्न चाहने ९ वर्षीय बालक



एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९ वर्षका क्वाइडन बेयल्समाथि उनको शारीरिक अवस्थालाई लिएर भयभित गराउने वा सताउने गरेका कारण उनले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका हुन् ।

बालकमाथि स्कूलमा भएको बुली (भयभित गराउने वा सताउने) को प्रभावको भिडियो विश्वव्यापी रुपमा भाइरल भएको छ । क्वाइडन रोइरहेको भिडियो उनकी आमा याराका बेयल्सले अनलाइनमा पोस्ट गरेकी हुन् ।

सो भिडियो क्लिप विश्वव्यापी रुपमा दशौँ लाखपटक हेरिएको छ । क्वाइडनमाथि उनको शारीरिक स्वरुपकै कारण बुली भएको हो । उनी सामान्यभन्दा सानो कदका छन् वा उनको उचाई सामान्यभन्दा कम छ । उनमा ड्वारफिजम भनिने मेडिकल कन्डिसन रहेको छ ।

याराकाले भिडियोमा भनेकी छन्, ‘बुलिङ्गले यस्तो गर्छ ।’ भिडियोमा रोइरहेका उनका छोरा क्वाइडनले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् ।

‘हामीले बुलीकै कारण धेरै मानिसहरुलाई गुमाएका छौँ । विभेदका कारण गुमाएका छौँ । रंगभेदका कारण गुमाएका छौँ । बुलिइङ्गका धेरै पक्षहरु छन् ।’ उनले भनेकी छन्–‘हरेक अभिभावकको सबैभन्दा भयानक भय हो, सन्तान गुमाउने डर । मैले त्यो भय हरेक दिन भोग्नु परेको छ ।’

त्योभन्दा पनि भयानक, असामान्य र शारीरिक रुपमा फरक वा अपांगता भएको अवस्थामा समस्या थप जटिल बन्छ र मानिसहरुले त्यो बुझेका छैनन् । रंगभेद छ र यहाँ अपांगता भएकै कारण विभेद रहेको याराकाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्