चीनमा कोरोनाभाइरस फैलिँदा नेपाली अर्थतन्त्र प्रभावित, सुनदेखि लसुनसम्म महँगो



काठमाडौं : चीनमा तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि त्यसको प्रभाव अहिले विश्वभरि देखा परिरहेको छ। उक्त प्रकोपका कारण नेपाल पनि प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित भएको छ।

नेपालमा अहिलेसम्म केवल एक जनामा मात्र कोभिड-१९ अर्थात् कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनमा सङ्क्रमण फैलिएपछि धेरै नेपालीहरू स्वदेश फर्किएका छन्। वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना अहिले पनि क्वारन्टीनमै छन्।

नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या घट्दा नेपाली अर्थतन्त्र विभिन्न किसिमले प्रभावित हुने देखिएको छ।

त्यसबाहेक चीनमा फैलिएको सङ्क्रमणका कारण नेपालमा सुनदेखि लसुनसम्म महँगो भएका छन्।

व्यापारमा तनाव

चीन विश्वकै व्यापार महाशक्ति राष्ट्र मानिन्छ। नेपालको पनि कुल आयातको झन्डै २० प्रतिशत चीनबाटै हुन्छ।

त्यसमा पनि औद्योगिक कच्चा पदार्थदेखि लिएर लत्ताकपडा उतैबाट आउँछन्।

तर गएको केही सातायता त्यो व्यापार ठप्प भएको छ।

“चिनियाँ नयाँ वर्षको बिदा सुरु भएपछि जबदेखि त्यहाँ कोरोनाभाइरस सङ्क्रमण फैलियो तबदेखि आयात निर्यात ठप्पजस्तै छ,” नेपाल चीन उद्योग व्यापार सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरले बताए।

स्थलमार्गबाट व्यापार हुने मुख्य नाका केरुङ होस् वा समुद्री र हवाईमार्गबाट हुने व्यापार सबै ठप्प जस्तै रहेको उनले बताए।

त्यसको सोझो असर बिस्तारै बजारमा देखा पर्न थालेको छ।

लसुन र सुन दुवैको भाउ बढ्यो

चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपले नेपालको अर्थतन्त्रमा पार्ने व्यापक असर बुझ्न दुईवटा मात्रै सामग्रीको अध्ययन गरे पनि पुग्ने देखिन्छ।

तरकारीमा लसुन अनि सांस्कृतिक महत्त्व पनि भएको बहुमूल्य धातु सुन दुवैको मूल्यमा यसको असर परेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डको तथ्याङ्कले डेढ महिनामा चीनबाट आयातीत लसुनको मूल्य अढाइगुनाले बढेको देखाउँछ।

बीबीसीका अनुसार नयाँ वर्ष लाग्दा सुकेको चिनियाँ लसुनको भाउ प्रतिकिलो २४० रुपैयाँ थियो भने अहिले त्यो ६०० भन्दा बढी छ। अझ स्थानीय तरकारी बजारमा त त्यति मूल्यमा पाउन पनि गाह्रो भएको बताइन्छ।

सुनको समीक्षा गर्दा कोरोनाभाइरसले चीनको अर्थतन्त्र र व्यापारमा पर्ने सक्ने प्रभावको आकलन गर्दै अन्तर्राष्ट्रिय बजारमा सुरक्षित तत्त्वको खोजीमा रहेका लगानीकर्ताका कारण बढेको मागका बीच यसको भाउ बिहीवार सात वर्षयताकै उच्च बिन्दुमा पुग्यो।

अन्तर्राष्ट्रिय बजारमा ज्यानुअरी १ देखि अहिलेसम्म आइपुग्दा प्रतिआउन्स १२५ अमेरिकी डलर बढिसकेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार ज्यानुअरी १ मा प्रतितोला ७३,५०० रुपैयाँमा बिकिरहेको सुन शुक्रवार ७८,१०० रुपैयाँ पुग्यो। सोही अवधिमा चाँदीको भाउ प्रतितोला ८९० बाट ९१५ रुपैयाँ पुगेको छ।

केही महिनाअघि अमेरिका र इरानबीच तनाव चुलिँदा पनि नेपाली बजारमा सुनको भाउ बढेको थियो।

अन्तर्राष्ट्रिय विश्लेषकहरूले कोरोनाभाइरसको समस्याबारे समाचारमाध्यममा शीर्ष स्थान पाउन्जेल सुनको भाउ नघट्ने अनुमान गरिरहेका छन्।

स्टक रित्तिँदो

नेपालमा खासगरी चीनबाट इलेक्ट्रोनिक सामान र लत्ताकपडाको धेरै आयात हुन्छ।

नयाँ वर्ष लाग्नुभन्दा अगाडि आयातीत सामानको भण्डार बिस्तारै रित्तिँदै गएको नेपाल चीन उद्योग व्यापार सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरले बताए।

“स्टक रित्तिँदैछ। छिट्टै सामान नल्याए यहाँ लत्ताकपडा तथा अन्य आयातीत सामानको भाउ बढ्न सक्छ,” उनले भने।

तर केही दिनयता नेपाली व्यापारीहरूले चीनबाट मालमत्ता ल्याउने मुख्य थोक विक्री केन्द्र रहेको यिवु नगरका प्रमुखले त्यहाँ स्थिति सामान्य बन्दै गएको भन्दै सरसामान लिन आउन भनिरहेकोले अब अवस्था सुध्रने आशा उनले व्यक्त गरेका छन्।

आयोजनाहरू पनि प्रभावित

व्यापारबाहेक नेपालभित्रका चिनियाँ कामदार वा निर्माण कम्पनी सहभागी भएका पूर्वाधार निर्माणका काममा पनि यो भाइरस सङ्क्रमणको असर परिरहेको बताइएको छ।

चीनमा कोरोनाभाइरस सङ्क्रमणको ठिक अगाडि त्यहाँको नयाँ वर्ष परेकाले थुप्रै चिनियाँ स्वदेश गएका थिए। ती अहिले काममा फर्किन पाएका छैनन्।

चिनियाँ कामदार र त्यहाँबाट ल्याउनुपर्ने उपकरण नआएपछि चिनियाँ निर्माण कम्पनी र कामदार सामेल रहेका गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल, माथिल्लो तामाकोशी आदि नेपालका केही महत्त्वपूर्ण आयोजनाहरुको काम प्रभावित भएको अधिकारीहरू बताएका छन्।

यही अवस्था अझै लम्बिएमा निर्माण लक्ष्यमा प्रभाव पर्ने आयोजना प्रमुखहरूको चिन्ता छ।

चिनियाँ निर्माण कम्पनीहरूले नेपालमा विमास्थलका अतिरिक्त, सडकका साथै जलविद्युत् क्षेत्रमा पनि काम गरिरहेका छन्।

त्यहाँ पनि समानको अभाव देखिएको विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

“अब कामदारकै पनि समस्या भयो। अर्को चाहिँ धेरैजसो आउनुपर्ने चिनियाँ सामानहरूमा त्यहाँ गएर हामीले निरीक्षण गर्ने स्थिति पनि छैन र सामान ल्याउन सक्ने स्थिति पनि छैन।”

“यसले गर्दाखेरि हाम्रो जलविद्युत् उत्पादन आयोजना मात्र नभई प्रसारण अनि वितरण र सब-स्टेशनका आयोजनामा पनि जहाँ धेरै चिनियाँ उपकरण प्रयोग हुन्छ त्यहाँ यसको असर देखिएको छ,” घिसिङले भने।

चीनको हुबे प्रान्तबाट सुरु भएको कोरोनाभाइरसले हालसम्म चीनमा ७५,००० भन्दा धेरै मानिसलाई सङ्क्रमित बनाइसकेको छ भने २,२०० भन्दा धेरैको ज्यान गइसकेको छ।

चीनभन्दा बाहिर चाहिँ २६ देशमा १,१०० भन्दा धेरै सङ्क्रमणका घटना पाइएका छन्।

प्रतिक्रिया दिनुहोस्