मादक पदार्थ सेवन गरी सवारी चलाए सचेतना परीक्षा दिनुपर्ने



विराटनगर : प्रहरीले मोरङमा मादकपदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकले अनिवार्य सचेतना परीक्षा दिनैपर्ने नियम लागू गरेको छ। मापसे गर्ने चालकले परीक्षा दिनुपर्ने नियम बनाएर लागू गरिएको नेपालमै पहिलो हो।

 

चालकसँग परीक्षा लिन त्यही हिसाबको प्रविधिको पनि विकास गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ। प्रहरीले लिने परीक्षा उत्तीर्ण गरेपछि मात्रै चालकले प्रहरीको नियन्त्रणमा रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकसमेतका कागजपत्र र सवारीसाधन फिर्ता पाउनेछन्।

 

मापसे गरेर सवारी चलाउँदा अत्यधिक दुर्घटना हुन थालेपछि थप कडाइ गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए। ‘चालकले मापसे गरे/नगरेको विषयमा ब्रेथलाइजरमार्फत जाँच गरिनेछ’, उनले भने, ‘मापसे गरेको पाइए साथमा भएका कागजपत्र र सवारीसाधन नियन्त्रणमा लिएर चालकलाई पुर्जी दिइनेछ।’

 

त्यही पुर्जी र पुर्जीमा उल्लेख भएको नम्बरका आधारमा मात्रै मापसे गर्ने चालकले परीक्षामा सहभागी हुन पाउने पोखरेलले जानकारी दिए। यसअघि मापसे गरेर सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना र लाइसेन्समा प्वाल पार्ने गरेको थियो। चालकलाई राखेर सचेतना कक्षा पनि सञ्चालन गरिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्