भाँडा साट्ने निहुँमा लट्ठ्याएर १० तोला सुन लुटपाट



कपिलवस्तु : भारतसँग सीमा जाेडिएका जिल्लाहरुमा पुराना भाँडाकुडा साट्ने निहुँमा चोरी र लुटपाट गर्ने प्रवृत्ति बढेको छ । घरमा प्रयोग भएका पुराना भाँडाकुडा साट्न भन्दै आउने महिलाहरु नै चोरी र लुटपाटमा संलग्न हुनेगरेको खुल्न आएको छ । 

 

शुक्रबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ सोनवर्षीमा भाँडा खरिद गर्ने निहुँमा आएकी एक महिलाले १० तोला लुटेको स्थानीयले आरोप लगाएका छन् ।

 

सोनवर्षीका चार जना महिलाहरुले पुराना भाँडा खरिद गर्न आएकी एक अपरिचत महिलाले पिठ्यु सुम्सुमाउँदै बेहोस बनाएर १० तोला बराबरको सुन लगेको बताएका छन् । 

शुक्रबार दिउँसो गाउँ पसेकी ती महिलाले 'मोहनी मन्त्र' गरी सुन लुटेको पीडित सीता भुसाल, भूमीका कँडेल, लक्ष्मी कँडेल र पिंकी खत्रीले आरोप लगाएका छन् । होसमा आएपछि आफूहरु लुटिएको थाहा पाएको बताउने चारै महिलाले वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् । 

 

प्रहरीले लुटपाटमा संलग्न महिलाको पहिचान भएकाले खोजी भइरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्