चार महिनादेखि बन्द खनजोत शुरु



रुकुमपूर्व : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाअन्तर्गत तकवासीले खेतबारीमा खनजोत कार्य शुरु गरेका छन् । चार महिनादेखि बन्द गाउँको खनजोत गएको बुधबारबाट शुरु भएको हो । त्यसका लागि आवश्यक विधि र बाचा यसअघि नै पूरा भइसकेको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा हरेक वर्ष मङ्सिर, पुस, माघ र फागुनमा खनजोत गर्न पाइँदैन । वडा कार्यालय, गाउँपालिका वा अरु कुनै सरकारी निकायको नियमले खनजोत गर्न बन्देज गरिएको होइन । परम्परादेखि नै तकगाउँमा हरेक मङ्सिरको अन्तिमदेखि फागुनको पहिलो सातासम्म खनजोत गर्न नपाइने चलन चल्दै आएको हो । सो समयमा यस क्षेत्रमा हलो प्रयोग पूर्णतः बन्द रहन्छ । सकेसम्म कुटो–कोदालो पनि नचलाउने चलन छ ।

खनजोत गर्न बन्द गर्ने र फुकाउने विधि घर्तीमगर थरका एक जना व्यक्तिले मात्रै गर्छन् । उनले पूजाआजा र विधिवाचा पूरा गरेपछि सबै गाउँलेले जोत्न तथा खन्न शुरु गर्छन् । विधि बाचाका लागि गएको बुधबार राम्रो दिन मानिएकाले सोही दिनबाट तकमा जोत्न तथा खन्न शुरु गरिएको हो ।

यस वर्ष सुर्जे घर्तीमगरले विधिबाचा गरेर हल्सार अर्थात् भूमि र हलोको पूजा गरी जोत्ने र खन्ने कार्य फुकुवा गरिदिनु पर्ने हो । तर, सुर्जे देश बाहिर रहेकाले उनका बुबाले भूमि र हलो पूजा गरेर खनजोत फुकुवा गरेका हुन । गाउँका कटवालले खनजोत कार्य शुरु हुने भनेर गाउँमा हाक हालेका थिए । आइतबार भूमि पूजा भएको थियो भने आइतबारपछिको राम्रो बार बुधबार हुने भएकाले धामीले बुधबारदेखि जोत्न र खन्न सकिने गरी साइत मिलाइदिएका हुन् ।

तकगाउँमा खनजोत गर्न पनि त्यसरी नै सूचना दिएर बन्द हुन्छ । मङ्सिर मसान्तको दिन घरका छतछतमा गएर गाउँका कटवालले खनजोत कार्य बन्द भएको सूचना दिन्छन् । गाउँलेले त्यसैलाई आधिकारिक सूचना मानेर गाउँमा खनजोत बन्द गर्छन् । फेरि घर्तीमगरमध्येका एक जनाले हल्सार अर्थात् भूमि र हलोको पूजा गरेपछि उनै कटवालले त्यसबारेमा गाउँलेलाई जानकारी दिएर खनजोत गर्न लगाउने गरेको स्थानीय युवा मैत्या घर्तीमगरले बताए ।

हरेक वर्ष घर्तीमगरका छोराहरूको पालैपालो हल्सार गर्ने जिम्मेवारी आउने गरेको उनले बताए । त्यस क्षेत्रमा व्यापक हिउँ पर्ने भएकाले त्यस समयमा खनजोत गर्न हुन्न भनेर चलन चलाएको बताइन्छ । त्यो समयमा खनजोत गर्दा भूमिको श्राप लाग्ने जनविश्वास छ । तकमा हाल २६ घरधुरी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्