ट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरी अन्त्यमा : ह्वाइट हाउस



वासिङ्टन : अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन फेब्रुअरी अन्त्यतिर हुने जनाएको छ ।

उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो । 

'राष्ट्रपति डोनाल्ड ट्रम्पले किम योङ चोलसँग साढे एक घण्टा बैठक गर्नुभयो, बैठकमा आणविक हतियार निःसशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ,' ह्वाइट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले भने । उनले शिखर बैठकको ठाउँ र आउँदो फेब्रुअरीको अन्त्यतिर बैठक गर्नेबारेमा छलफल भएको जानकारी दिए। 

दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्व अन्त्य गर्न  वार्ताका लागि चोलको नेतृत्वमा उत्तर कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण आएको छ ।

उत्तर कोरियाली सेनाका उच्च सैन्य जर्नेल चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिन्छन् । उनी उत्तर कोरियाली नेता किम जोङ उनको विश्वासपात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुन् । उनले ट्रम्प र अमेरिकी उच्च अधिकारीहरुसँग विषेश गरेर दोस्रो शिखर सम्मेलनकै बारेमा छलफल गरेका छन् । 

किमको गत नोभेम्बरको सुरुमा नै वासिङ्टनको भ्रमण गर्ने समय तालिका रहेको थियो तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चिसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । 

किमले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धमा नयाँपन आएको थियो । केही दिनअघिमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो । 

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो । 

पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर वार्ता हुने भनिए पनि आउने फेब्रुअरीको अन्त्यमा मात्रै हुने भएको हो । दोस्रो शिखर सम्मेलनको आतिथ्य भने भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्