कालोपत्रको काम पुन : संचालन गराउने सहमति



खोटाङ : कालो पत्रको काममा ढिलासुस्ती तथा गुणस्तहीन भएको र कार्यरत कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयवासीले अवरोध गरेको महुरे-राजापानी-सिम्पानी सडकको काम पुन : संचालन गराउने सहमति भएको छ ।

ठेकेदार कम्पनीसँग आक्रोशित बनेका स्थानीयवासीले यही फागुन ८ गतेदेखि अवरोध गराएको सडक कालोपत्रको काम जिल्ला प्रशासन कार्यालय खोटाङको पहलमा पुन : संचालन गराउने सहमति भएको हो ।

आइतबार कामदार तथा उधारो दिएका व्यवसायीलाई ठेकेदारले १० लाख बाँडिदिने, सोमबारदेखि सडकको काम पुन : संचालन गराउने, जिरोप्वाइन्ट रहेको माहुरेबाट कालोपत्रको काम टुंग्याउँदै जाने, बस्ती तथा विद्यालय आसपासमा उड्ने धुलो नियन्त्रण गर्न ठेकेदारले ट्यांकरमार्फत दैनिक पानी छ्याप्नेलगायतका सहमति भएपछि अवरोध हटाइएको बुइपाका स्थानीयवासी एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता मिलन राईले बताए ।

उनले भने,“ठेकेदार कम्पनीले मनपरी गरेपछि कालोपत्रको सम्पूर्ण काम रोकेका हौँ”, “आज प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, नेकपा नेता देवविक्रम राई, ठेकेदार कम्पनीका प्रतिनिधि नवीन मैनाली र स्थानीयवासीको उपस्थितिमा पञ्चदोबाटोमा भएको छलफलपछि पुन : काम संचालन गराउने सहमति भएको हो ।”

छलफलमा निर्माण कम्पनी भारत कन्ट्रक्शन-सिद्धी शाही जेभीका निर्माणस्थलमा खटिएका मैनालीलाई बाँकी रहेको समयभित्र सडक कालोपत्रको काम पूरा गर्न निर्देशन दिएको संविधानसभा सदस्य पिकेले बताए । काम शुरु गरेदेखि अहिलेसम्म पनि कामदारलाई पारिश्रमिक नदिएकोमा निर्माण कम्पनी भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीविरुद्ध आक्रोशित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला, वडा नं १४ बुइपा, वडा नं १५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका स्थानीयवासीले काममा अवरोध गरेका थिए ।

सगरमाथा राजमार्गको गाईघाट-दिक्तेल सडकको महुरे-फोक्सिङटार सडकखण्ड अन्तर्गत महुरेदेखि राजापानीको सिम्पानीसम्मको २२ किलोमिटर सडकको ठेक्का लिएको भारत कन्ट्रक्शन-सिद्धी शाही जेभीले काम गरेवापतको पारिश्रमिक अहिलेसम्म नदिएपछि आक्रोशित कामदारले गत पुस २० गतेदेखि झण्डै महिना दिनभन्दा बढी सडकको काम ठप्प बनाएका थिए ।

तोकिएको भाकामा पारिश्रमिक नपाएको विरोधमा करीब १५० कामदारले निर्माण कम्पनीको टिपर, ट्याङ्कर, ट्र्याक्टरलगायत सबै सवारी साधनको चाबी ठेकेदारबाट खोसेर प्रहरी चौकी बुइपालाई बुझाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्