अलैँचीको मूल्यमा गिरावट



खाँदबारी : कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ ।

भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय समितीका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताएका छन् ।
भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन (१०० किग्रा) अलैँचीको मूल्य घटेर २६ हजार पुगेको छ ।

केही वर्षअघि एक मनको एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि २६ हजारमा किनबेच भइरहेको उनले बताए । उनले भने, “दुई चार वर्षअघि एक मनको एक लाखमा कारोवार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो ।” पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा आत्मानिर्भर हुन परेको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ । अलैँचीको निकासी सिधैँ बङ्गलादेश नै निकासी गर्न सकेको राम्रो मूल्य पाउन सकिने उनले बताए । अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासंघको तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, दुवई, चीन र भारत पुगेको जानकारी दिए ।

मसलाको रुपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेकाले भविष्यमा बजार पाउने आशावादी बनाएको उनले बताए । पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको हो ।

अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ । चीनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल नगरी दिँदा अलैँची व्यवसायी निराश हुन परेको उनले गुनासो गरे । सधैँ भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ । पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ ।

अहिले भारतमा अलैँची उत्पादन हुन थालेपछि नेपालमा उत्पादित अलैँची बिक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ । अहिले अलैँची कारोवारी भारतमा कमी आएको पाइन्छ । गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताए । ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ ।

२ प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ । संखुवासभामा २९ हेक्टर जमिन उत्पादन योग्य जमिन रहेपनि हाल ३०० मेट्रन अलैँची उत्पादन हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्