सुर्खेत : एम्नेष्टी इन्टरनेशनल नेपालले मानवअधिकारको क्षेत्रमा कार्यरतहरुलाई ‘क्षमता अभिवृद्धिसम्बन्धी तालिम’ प्रदान गरेको छ । एम्नेष्टी इन्टरनेशनल नेपालले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मानवअधिकारसम्बन्धी काम गर्ने सुर्खेतका लयर्स समूह–६९, समूह–२, काक्रेबिहार र वीरेन्द्रनगर नेटवर्कसँग आबद्ध १२० सदस्यलाई तालिम प्रदान गरेको हो ।
एम्नेष्टी, मानवअधिकारका बारेमा स्पष्ट जानकारी गराउने र सो सन्देश स्थानीय नागरिकसम्म पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको एम्नेष्टी इन्टरनेश्नल लयर्स समूह ६९ सुर्खेतका सहसचिव कर्णबहादुर खड्काले जानकारी दिए । तालिममा एम्नेष्टीले विश्वभरि निर्वाह गरिरहेको विशेष कार्यभार, नेपालमा सञ्चालन गरिएका गतिविधि, यसले के गर्न हुन्छ र के गर्न हुँदैन भन्नेबारेमा बताइएको सहसचिव खड्काले बताए । काक्रेबिहार नेटवर्कका अर्जुन तिमिल्सेनाले मानव जीवनमा हुने गल्तीलाई प्रथमतः सच्याउन मौका दिनुपर्ने र मानवअधिकारको हनन् हुन नदिन सबै क्षेत्रले जिम्मेवार भूमिका खेल्नुपर्नेबारे सूचित भएको बताए ।
वीरेन्द्रनगर युथ नेटवर्कका शुभेच्छा शाहीले तालिमबाट मानवअधिकार सुनिश्चितताका लागि हरेक राज्यले पूरा गर्नुपर्ने दायित्व, समाजमा जन्मने हरेक नागरिकले पाउनुपर्ने सम्मान र अधिकार सुनिश्चितार्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी पाइएको बताए । एसओएस बालग्राम सुर्खेतमा १० कक्षामा अध्ययनरत शाहीले यो तालिमबाट दुःखमा परेकाको उद्धार र हिंसामा परेकालाई सहयोग गर्ने प्रेरणासमेत मिलेको प्रतिक्रिया दिए ।
उक्त तालिममा एम्नेष्टीका राष्ट्रिय बोर्ड सल्लाहकार प्रदीप पोखरेल, राष्ट्रिय बोर्ड निर्देशक निराजन थपलिया, संयोजक विक्रम ढुकुचुलगायतले दोस्रो विश्वले पारेको प्रभाव, राष्ट्रसङ्घको स्थापना, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, सहभागीलाई मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, महिला तथा बालबालिकासम्बन्धीका महासन्धिलगायत विभिन्न विषयवस्तुमा प्रशिक्षण दिएका थिए । रासस