नेकपा सचिवालय : एमसिसीबारे छलफल



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) प्रस्तावका बारेमा छलफल भएको छ ।

आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसिसी अध्ययन कार्यदलका संयोजक तथा वरिष्ठ नेता झलनाथ खनालले अध्ययन प्रतिवेदनको विवरण पेश गरेका हुन् ।

बैठकमा एमसिसीसम्बन्धी विभिन्न विवरण पेश भएका र त्यसमाथि विस्तृतमा छलफल भएको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । एमसिसी सहयोगसम्बन्धी विषयमा फेरि पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

नेकपाको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलले शुक्रबार मात्रै अध्यक्षद्वय समक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्