प्रधानमन्त्रीको जन्मदिनमा सार्वजनिक बिदा !



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउने भएपछि त्यहाँ सार्वजनिक बिदा दिइएको छ ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो जन्मथलो आउने भएपछि आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।

विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम तय भएकोले बिदा दिइएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले जानकारी दिए ।

आज (आइतबार) प्रधानमन्त्री ओलीले ६९ औँ जन्मदिन मनाउँदै छन् । जन्मथलो जानु अघि प्रधानमन्त्री ओलीले बालुवाटरमा ‘बर्थ डे सेलिब्रेसन’ गरेका थिए ।

बिहान बालुवाटार पगेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायतले प्रधानमन्त्रीको जन्मदिन ‘सेलिब्रेसन’ गरेका हुन् ।

यसैगरी ओलीले आजै आठराईको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । साथै उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्