सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई



धनगढी : तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । धनगढी क्षेत्रिय रङ्गशालमा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई १-० गोलले पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो ।  खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ ।

 

उपविजेता रुस्लान थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो । खेलमा निर्णायक गोल गरेका अभिषेक आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

 

विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले सन्तोषजनक प्रदर्शन भएपनि उपाधि जित्दा खुसी रहेको बताए । ‘मैदानको अवस्थाका कारण हामीले अपेक्षित प्रदर्शन त गरेनौं ।

 

समयमा नै गोल निस्केकाले जित दर्ता गर्न सफल भयौं,’ उनले भने,‘लिगको प्रदर्शन बिर्साउन मोफसलको प्रतियोगिता जित्ने लक्ष्य थियो । अब अन्य प्रतियोगितामा पनि यसैअनुसार अगाडी बढ्नेछौं । मोफसलको प्रदर्शनले अर्को लिगको तयारीको आधार हुनेछ ।’

 

विधागत उत्कृष्टतर्फ पनि पुलिसले नै वर्चस्व जमायो । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए ।

 

उत्कृष्ट मिडफिल्डर रुस्लान थ्री स्टारक विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए । प्रतियोगिता अवाधिबह्र ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वा्धिक गोलकर्ताको पुरस्कार पाए । व्यक्तिगत विधातर्फ सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

 

प्रतियोगिताको समापन समारोहमा सामाजिक अभियन्ता आरजु राना देउवा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल, एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्