पर्यटक पर्खिंदै टीकापुरका संरचना



भजनी : आकर्षक पर्यटकीय संरचनाले भरिभराउ कैलालीको टीकापुर क्षेत्र थप पर्यटकको पर्खाईमा छ । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको सिमाना कर्णाली पुल हुँदै पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीदेखि १४ किलोमिटर दक्षिणतर्फ टीकापुर पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि यस क्षेत्रको प्रमुख आकर्षण बनेको टीकापुरले नेपाल भ्रमण वर्ष २०२० मा थप बाह्य पर्यटकलाई स्वागत गर्ने तयारी पनि गरिरहेको छ ।

पर्यटक लोभ्याउँदै टीकापुर पार्क

टीकापुर क्षेत्रका प्रमुख पर्यटकीय संरचनामा टीकापुर पार्क, पदमप्रकाशेश्वर मन्दिर, पर्शुराम कुण्ड, बिपी कुञ्ज, डल्फिन क्षेत्र, ओजहुवा ताल, कर्णाली नदीलगायत छन् । जिल्लाका यी प्रमुख पर्यटकीय क्षेत्र टीकापुर नगरपालिकाभित्र पर्छन् । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहँदा टीकापुर नगरपालिकाले पनि यसका लागि नगरसभाबाट बजेट विनियोजन गरी पर्यटनसम्बन्धी कार्यक्रम अघि सारेको छ । यहाँका केही प्रमुख प्राकृतिक तथा मानवनिर्मित पर्यटकीय संरचनाको परिचय यहाँ प्रस्तुत गरिएको छ ।

टीकापुर पार्क

टीकापुर नगरपालिकामा रहेको टीकापुर पार्क क्षेत्रफलको हिसाबले नेपालकै सबै भन्दा ठूलो मानव निर्मित पार्क हो । पूर्व–पश्चिम राजमार्गबाट करिब २० किलोमिटरभित्र पर्ने टीकापुर पार्कले आफ्नो एक अलग्गै इतिहास बोकेको छ । विसं २०२४ मा राजा महेन्द्र केही महिना टीकापुर पार्कमा बस्नुभएको थियो । राजा महेन्द्रलाई हृदयाघात भएपछि चिकित्सकको सल्लाहअनुसार कुनै प्राकृतिक क्षेत्रमा गएर आराम गर्न भनेपछि राजा महेन्द्र टीकापुर पार्कमा बसी स्वास्थ्य लाभ गर्नुभएको बताइन्छ । त्यस समय राजाले यहीँबाट राज्य चलाएको इतिहास भेटिन्छ ।

 राजा महेन्द्रले स्वास्थ्यलाभ गरेको कर्णाली नदीको किनारमा सुन्दर बगैंचा बनाइएको थियो।

यस पार्कमा राजा महेन्द्र आरोग्य केन्द्र र वीरेन्द्र विश्राम बाटिकाको नामका काठबाट निर्माण गरिएका दुई वटा घर छन् । बाहिर काठबाट निर्माण गरेको देखिए पनि भित्र सुविधा सम्पन्न शयनकक्ष, बाथरुम, अतिथि कक्ष छन् । राजा महेन्द्र र वीरेन्द्र टीकापुर आउँदा त्यहीँ बस्ने गरिएको सो पार्कमा निर्मित घरको भित्री भागमा सुविधा सम्पन्न कोठा पनि छन् । टीकापुर पार्कको निर्माणमा पनि राजा महेन्द्रको योगदान रहेको टीकापुरवासी बताउँछन् ।

फोटोःतारामन खड्का

पार्कमा वर्षभरि मौसमअनुसारका दर्जनौँ फूल ढकमक्क पुलेको देख्न पाइन्छ । राजा महेन्द्रको पालामा स्थापना भएको टीकापुर पार्कमा रानी रत्न तथा बुहारी ऐश्र्वको नाममा गुलाबका फरक–फरक बगैँचा रहेका छन् ।

 अहिले पनि बगैँचा सुन्दर छ।

पार्कलाई तीन भागमा विभाजन गरिएको छ । पार्क प्रवेश गरेपछि एउटा ठूलो स्तम्भ आउँछ । स्तम्भमा राजा महेन्द्रले रचना गरेको उपहार शीर्षकको कविता कुँदिएको छ । स्तम्भ नजिकै हेलिप्याड रहेको छ, जहाँ राजपरिवारका सदस्य चढेको हेलिकप्टर अवतरण गर्दथ्यो । स्तम्भको बायाँतर्फ राजा वीरेन्द्र विश्राम गृह रहेको छ । स्तम्भको ठीक अगाडि महेन्द्रको आरोग्य गृह रहेको छ भने त्यस वरपरको बगैँचालाई रत्न बाटिकाको नाम दिइएको छ । पार्कभित्र ठूलो फलफूल बगैँचासमेत रहेको छ । जहाँ आँप, लिची, कटहरलगायत गर्मीयामका फल रहे छन् । आठ प्रजातिका गुलाबका फूल फुलिरहेको पार्क हेर्दा अति आकर्षक देखिन्छ ।

 बगैँचालाई टीकापुर बृहत उद्यान नाम दिइएको छ। महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम गृह, ऐश्वर्य वाटिका सबैलाई जोडेर टीकापुर बृहत उद्यान बनाइएको हो।

टीकापुर पार्कमा बसेर स्वास्थ्य लाभ गरेका राजाले काठमाडौँ फर्किएपछि टीकापुर क्षेत्रमा शहरी विकास गर्न कर्णाली नदीको किनारमा पार्क निर्माण गर्न निर्देशन दिएको बताइन्छ । उक्त पार्क ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । पार्कको दक्षिणतर्फबाट कर्णाली नदी बगेको छ । नदीको कलकल आवाजले सुन्दर पार्कलाई थप रोमाञ्चक बनाइदिएको महसुस हुन्छ । कर्णाली नदीको किनारमा पार्कभित्रै पर्नेगरी पिकनिकस्थल छन् । वर्षमा लाखौँ आन्तरिक पर्यटक पिकनिक खान र पार्कको अवलोकनका लागि आउने गरेका छन् । पार्कले वार्षिक करिब ५० लाख राजस्व आम्दानी गर्दै आएको छ । पार्कको प्रवेश शुल्क विद्यार्थीलाई रु १५ र अरुलाई रु २५ छ ।

टीकापुर नगरपालिकाले पार्कलाई नगरको गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरका लागि पार्क महत्वपूर्ण क्षेत्र भएको भन्दै पार्कको व्यवस्थापनका लागि नगरपालिका निरन्तर लागिपरेको बताए । उनले अहिले पार्कको आम्दानीभन्दा बढी नगरपालिकाले पार्कमा लगानी गर्दै आएको भन्दै भविष्यमा पार्क नगरपालिकाको मुख्य आम्दानीको स्रोत बन्ने बताए ।

कर्णाली नदी किनारै किनार सुन्दर नर्सरी छ।

पदमप्रकाशेश्वर मन्दिर

टीकापुर नगरपालिका–७ मा रहेको पदमप्रकाशेश्वर मन्दिर पर्यटकका लागि एक महत्वपूर्ण गन्तव्य बनेको छ । सयौँ वर्ष पुरानो यो मन्दिरको विसं १९६५ मा जीर्णोद्धार गरिएको थियो । नेपालको सबैभन्दा ठूलो शिवलिङ्ग पदमप्रकाशेश्वर मन्दिरमा रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद कायस्थ बताउछन । विश्वको दुर्लभ शिवलिङ्ग यही मन्दिरमा रहेको भन्दै अध्यक्ष कायस्थले यस मन्दिरमा रहेको शिवलिङ्ग पूर्वतर्फ फर्किएका कारणले पनि विशेष रहेको बताए ।

मानसरोवरको तीर्थयात्रामा जाने भक्तजनले पदमप्रकाशेश्वर मन्दिरको दर्शन गरेर जाने र फर्कदा पुनःमन्दिरको दर्शन गरेर घर फर्कने गरेको इतिहास पनि भेटिन्छ । सयौँ वर्ष पुरानो मन्दिरको आफ्नै महत्व रहेको बताउँदै टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डँगौरा थारुले मन्दिरको प्रचारप्रसार हुन नसकेको स्वीकार्छन । नगरपालिकाले मन्दिरको संरक्षण र सम्वद्र्धनमा थप ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन ।

नगर प्रमुख रावलले मन्दिरको पुनःनिर्माणका लागि रु ४० लाख बजेट विनियोजन भएको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारको रु ३० लाख र नगरपालिकाको रु १० लाख बजेट रहेको भन्दै पुरातात्विक महत्वलाई नबिग्रने गरी मन्दिरको पुनःनिर्माण गरिने बताए । पदमप्रकाशेश्वर मन्दिरको स्थापना हुँदा ७०० बिघा जग्गा मन्दिरको नाममा भए पनि हाल मन्दिरसँग दुई कठ्ठा १० धुर मात्र छ । मन्दिरका अध्यक्ष कायस्थले स्थानीय सरकारले मन्दिरका नाममा रहेको जग्गाको खोजी गर्नुपर्ने बताएका छन । उनले मन्दिर आसपासमै पर्शुराम कुण्डको स्थापना गर्नुपर्ने भन्दै सम्भावना बोकेको क्षेत्रलाई स्थानीय सरकारले खासै वास्ता नगरेको गुनासो गरे ।

डल्फिन क्षेत्र

Image result for डल्फिन क्षेत्र

टीकापुर नगरपालिका– ७ मा पर्ने डल्फिन क्षेत्र पर्यटकका लागि महत्वपूर्ण गन्तव्य रहेको छ । विश्वकै दुर्लभ जलचर डल्फिन कर्णाली–मोहना, काँढा, कन्द्रा नदीमा पाइन्छ । विशेषगरी, वर्षात्को समयमा डल्फिन बढीमात्रामा देखिने भए पनि कर्णाली नदीमा बाहै्र महिना डल्फिन देख्न सकिन्छ । डल्फिन हेर्न नेपाल, भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकका पर्यटक यहाँ आउने गरेका छन् ।

Image result for डल्फिन क्षेत्र

विसं २०५४÷०५५ तिर सो क्षेत्रमा डल्फिन देखिएपछि स्थानीय भोजराज श्रेष्ठले डल्फिन संरक्षण केन्द्र स्थापना गरी प्रचारप्रसार र संरक्षणका क्रियाकलाप थाल्नुभएको थियो । डल्फिन क्षेत्रको प्रचारप्रसारका लागि प्रत्येक वर्ष डल्फिन महोत्सवको आयाजना पनि हुने गरेको छ । टीकापुर नगरपालिका– ७ का वडाअध्यक्ष डँगौरा थारूले डल्फिन क्षेत्रको संरक्षण र प्रचारप्रसारका लागि नगरस्तरबाट विभिन्न प्रयास भइरहेको भन्दै सो क्षेत्रमा भौतिक संरचना निर्माणको कामसमेत शुरु हुने बताए । डल्फिन क्षेत्रमा टीकापुर नगरपालिका र भजनी नगरपालिका पर्ने हुँदा सो क्षेत्रमा माछा मार्नसमेत प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध लगाइए पनि माछा मार्नेक्रम भने नरोकिएको स्थानीयको गुनासो रहेको छ ।

Image may contain: bird, water and outdoor

पर्शुराम कुण्ड

टीकापुर नगरपालिका– ७ मै पर्ने पर्शुराम कुण्ड पर्यटकको अर्काे महत्वूर्ण गन्तव्य बन्न सक्छ । रानी जमरा गुलरिया सिँचाइ आयोजना शुरु हुनु अगाडि कर्णाली नदीको केही भाग त्यही कुण्ड भएर बग्थ्यो । हाल उक्त कुण्ड तालका रुपमा परिणत भएको छ । कुण्डसँगै बिपी कुञ्ज र सत्ती कर्णाली सामुदायिक वन जोडिएको यो क्षेत्र पनि पर्यटकको महत्वपूर्ण गन्तव्य बन्नसक्ने देखिन्छ ।

Image result for पर्शुराम कुण्ड

हुलाकी राजमार्गसँगै जोडिएको पर्शुराम कुण्डको संरक्षण र प्रचारप्रसार हुनसके पर्यटकका लागि पिकनिक स्पट, जङ्गल सफारीका लागि सत्ती कर्णाली सामुदायिक वन, ¥याफ्टिङका लागि कर्णाली नदीसँगै जोडिएका कारण त्यसको महत्व विशेष रहेको स्थानीय जीतराम चौधरीले बताए ।

Image result for पर्शुराम कुण्ड

नगरपालिकाले चालू आर्थिक वर्षमा ओजहुवा ताल, पर्शुराम कुण्ड र सत्ती कर्णाली सामुदायिक वनको डिपीआर तयार गर्ने काम शुरु गरेको अध्यक्ष थारूले बताए । टीकापुर आफैँमा एउटा योजनाबद्ध र व्यवस्थित शहर रहेको बताइन्छ । त्यसैले यस शहरले पनि टीकापुरमा रहेका यी संरचनाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण दिनुपर्ने स्थानीयको माग छ । रासस

प्रतिक्रिया दिनुहोस्