कफीमा रम्दै टेबुलटेनिस खेलाडी



कफी व्यवसायमा फड्को मार्दै गरेका टेबुलटेनिस खेलाडी अभिनायक मल्ल ।

विराटनगर : एक समयमा टेबुलटेनिसका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका विराटनगरका अभिनायक मल्ल यति बेला भने कफी व्यवसायमा रमाउँदैछन् । बीचमा स्विट्जरल्यान्ड पनि पुगेका उनी यति बेला कफीमा भविष्य खोज्दैछन् ।

 

‘मुलुकमा राजनीतिक स्थिरता आउने सोचेर फर्किएँ र नौलो पेसामा अघि बढें’, माघको चिसोमा कफीको चुस्की लगाउँदै मल्लले भने । स्विट्जरल्यान्डको न्युसाटेल विश्वविद्यालयबाट पाँच वर्षअघि इन्टरनेसनल बिजनेस डेभलपमेन्ट विषयमा मास्टर्स सकेका मल्लको विदेशी भूमिलाई नै कर्मभूमि बनाउने बाटो खुल्ला थियो । तर विराटनगर अनि घरको मोहले उनलाई छोडेन । जसोतसो पढाइ पूरा भएपछि विराटनगर ६ स्थित घर फर्किए । त्यसपछि बुवा विजय मल्लको निर्माणसम्बन्धी काम सम्हाल्नु वा नयाँ काम सुरुआत गर्नु उनका लागि विकल्प थियो । 

 

हुन त उच्च शिक्षा सकेलगत्तै मल्लसँग विदेशी भूमिमा कार्य गर्ने, बस्ने अवसर नभएको होइन । तर पनि पैसा कमाउनुमात्र सबै होइन भन्ने बुझेका मल्ल विदेशलाई काम सिक्ने थलोका रुपमा मात्र लिनुपर्ने बताउँछन् ।  

 

कुरा गर्दै जाने क्रममा उनले थपे, ‘अब भने बिस्तारै यहाँ काम गर्ने वातावरण बन्दै गएको छ । काठमाडौंमा कफी हाउस खुल्दै गएको देखेका मल्लले दुई वर्षअघि नै कफीमा हात हाल्ने जमर्को थालेका थिए । यसअघि उनले स्विट्जरल्यान्डमा पढाइकै क्रममा पनि कफीको विषयमा चासो राखेका थिए । उनले भने, ‘नेपाली कफी खेतीलाई विदेशी भूमिमा पु¥याउनुपर्छ भनेर दुईतीनपटक पूर्वकै विभिन्न ब्रान्डका कफीलाई एउटा स्विस कम्पनीसमक्ष पेस गरें तर समयले साथ दिएन ।’

 

त्यसैले होला, गएको एक वर्षदेखि मल्ल विराटनगरमा कफी हाउस वेक कप खोलेर जम्ने प्रयासमा छन् । विराटनगरमा पनि कफीका पारखी होलान् र ? ३० वर्षीय मल्ल भन्छन्, ‘बिस्तारै जनमानस कफीप्रति सकारात्मक बन्दैछ । हिजोको दिन सीमित दायरामा रहेको कफीको व्यवसाय विस्तार हुँदैछ ।’

प्रदेश १ मै कफीकै लागि भनेर छुट्टै रेष्टुरेन्ट कम भएको अवस्थामा मल्ल नयाँ सोचसहित अघि बढेको बताउँछन् । विराटनगरको बाटा रोडमा मासिक एक लाख रुपैयाँ खर्चसहित वेक कप हाउस खोलेर व्यवसायी बनेका मल्ल काम गर्ने जाँगर र सीप भए बिदेसिनुनपर्ने बताउँछन् । मल्ल भन्छन्, ‘काम विदेशमा सिके पनि सीप आफ्नै देशमा विस्तार गर्नुपर्छ ।’ 

सुरुआती २० लाख रुपैयाँमा अघि बढेको कफी हाउसमा उनले ६ जनालाई रोजगारी दिएका छन् । घर भाडा मासिक ३० हजार तिर्दै आएका मल्लले भने, ‘बिस्तारै कफीबारे जानकारी दिन थालेका छौं । राम्रै हुँदै गएको छ । घरमा खर्च माग्नुपर्ने अवस्था आएको छैन ।’ 

हाल उनले वेक कपमा विभिन्न कफीमध्ये अर्गानिक कफी एराविकालाई प्राथमिकता दिएका छन् । धेरैले कफीलाई तयारी कफी अर्थात इन्स्टान्टको रुपमा बुझ्ने गरेको उनको अनुभव छ । एराविका र रोबुस्टा कफीले नेपाली बजारमा स्थान पाएको उनी बताउँछन् । 

कफी पारखीको भीड माघको जाडोमा भन्दा गर्मीयाममा हुने बताउँदै मल्लले थपे, ‘युवा पुस्ता गर्मीमा कोल्डकफीमा बढी आकर्षित हुन्छन् । उनीहरुको रोजाइ कोल्ड कफी, हट मुक्का र क्यापेचिनो हुने गरेको छ ।’

काठमाडौं कफीको ब्रान्ड लिएर अघि बढेका मल्ल आफ्नै कफीखेतीबाट नयाँ ब्रान्डिङ स्थापित गर्दैछन् । मल्ल परिवारले इलामको बीजबारीमा दुई वर्षदेखि करिब ४४ रोपनीमा कफीखेती गरिरहेको छ । मल्ल भन्छन्, ‘त्यहाँको मौसम कफी उत्पादनका लागि निक्कै राम्रो छ । त्यसैले पनि त्यहाँ उत्पादित कफीले विश्वबजारमा राम्रो स्थान पाउने आशा छ ।’ 

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कफीको नियमित सेवनले कलेजो तथा पिसाबसम्बन्धी रोग नियन्त्रणमा साथ दिन्छ ।

 

मल्ल टेबलटेनिसमा पनि राम्रै जमेका थिए । नेपालका लागि उनले सन् २००७ मा भारतमा आयोजित साफ च्याम्पियन्सिप र वल्र्ड जुनियर सर्किटमा प्रतिस्पर्धा गरे । खेललाई चटक्क भुल्न नसकेका मल्ल भन्छन्, ‘खेलले आत्मसन्तुष्टि दिन्छ । सानैबाट टेबुलटेनिसमा मन लाग्यो । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पनि पाएँ । त्यसैले पनि खेलबाट टाढा हुन सकेको छैन ।’ 

  

प्रतिक्रिया दिनुहोस्