पशुपति आएका साधुसन्तहरुलाई दक्षिणासहित यसरी गरिदै छ बिदाई (फोटोफिचर)



काठमाडौं : ०७६ को शिवरात्रि पर्वको समापन साधुसन्तहरुको बिदाइसंँगै सम्पन्न भएको छ । पशुपतिक्षेत्र विकास कोषले आज (आइतबार) पशुपतिमा आएका साधुसन्तहरुलाई दक्षिणासहित बिदाई गरेर सम्पन्न गरेको छ ।

पशुपतिक्षेत्र सनातन हिन्दुहरुका लागि अत्यन्तै पवित्र स्थल मानिन्छ । पशुपतिनाथको दर्शनका लागि नेपालका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछन् । साथै भारतका विभिन्न स्थानबाट धेरै संख्यामा भक्तजनहरु पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन् । यो वर्ष पनि भगवान शिवको पूजा आराधना गर्न शिवरात्रिमा नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याका भक्तजनहरु आएका थिए ।

पशुपति आएका योगी, सन्यासी, नागाबाबा तथा साधुसन्तहरुको उपस्थितिले पनि पशुपतिमा रौनक छाएको पशुपतिक्षेत्र विकास कोषले बताएको छ । पशुपतिमा आएका साधुसन्तहरुको बस्ने खाने व्यवस्था पशुपतिक्षेत्र विकास कोषले गर्दै आएको छ ।

शिवरात्रिमा पशुपतिनाथ आएका सम्पूूर्ण साधुसन्तहरुलाई कोषले दक्षिणासहित रुद्राक्षको माला लगाएर बिदाई गर्ने परम्परा छ । कोषले साधुसन्तहरुलाई साधुहरुको तह अनुसार दक्षिणासहित अन्य उपहार दिएर सम्मानसाथ बिदाई गरेको छ ।

मठाधीश, सहायक मठाधीश, वैरागी साधु लगायतको तह निर्धारण गरेर दक्षिणा वितरण गरिएको छ । पशुपतिनाथ आएका कुनै साधुहरु अन्यभन्दा विशेष हुने हुनाले उनीहरुलाई विशेष सम्मान पनि गर्ने चलन रहेको छ । तर, धेरै समयसम्म लाइन बस्नुपरेको भन्दै साधुसन्तहरु आक्रोशित भएका थिए । उनीहरुले लाइनमै बसेर विरोध गरेका छन् ।

फोटो : बिनोद थापा

प्रतिक्रिया दिनुहोस्