वीरगन्ज : वीरगन्जमा आयोजित दोश्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
नारायणी रंगशालामा शनिबार सम्पन्न भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै आर्मी क्लब उपाधि हात पारेका हो ।
गत वर्ष पनि पहिलो टुबोर्ग विशाल मेमोरिय गोल्डकपको विजेता त्रिभुवन आर्मी क्लबले जितेको थियो । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । तर ट्राइबेकरमा पनि दुवै टिमबाट चार–चार गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट गरिएको हो ।
सडन डेथमा हिमालयन शेर्पाका आशीष गुरुङले प्रहार गरेको बल, आर्मीका गोल रक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै गोल पोष्ट भित्र छिर्न नदिएपछि आर्मीले हिमालयन शेर्पालाई सडन डेथमा २–१ ले हराउँदै उपाधी उचालेको हो ।
सडन डेथमा आर्मीका लागि टेक बहादुर बुढाथोकी र गोल रक्षक विकेश कुथुले गोल गर्न सफल भए भने हिमालयन शेर्पाका लागि एक मात्र गोल बिसन गुरुङगले गरे । यसअघि ट्राइबेकरमा आर्मीका लागि कप्तान भरस खवास, सन्तोष तामाङ, दीप लामा र विवेक बस्नेतले तथा हिमालयन शेर्पाका लागि विजय श्रेष्ठ, उरिच सिवे, विश्वास श्रेष्ठ र विकास तामाङले गरेका थिए ।
ट्राइबेकरमा आर्मीका दिपक गुरुङ र प्याट्रिक प्रभाइभेटको प्रहारलाइ भने गोल रक्षकहरुले विफल पारेका थिए । उपाधी विजेता आर्मी क्लबले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैया र ट्रफी हात पारेको छ । उपविजेता हिमालयन शेर्पाले भने नगद दुइ लाख ७७ हजार सात सय ७७ रुपैयाँमै चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयन शेर्पाका स्ट्राइकर विश्वास श्रेष्ठ घोषित भए । प्रतियोगितामा चार गोल गर्न सफल उनलाई सुजी कम्पनीको एक सय ५५ सिसिको जिक्सर मोटरसाइकल प्रदान गरिएको छ ।
त्यसैगरी प्रतियोगितामा म्यान अफ दि म्याच हिमालयन शेर्पाका मान बहादुर तमाङ्ग, बेस्ट गोल किपर त्रिभुवन आर्मी क्लबका विकेश कुथु, बेस्ट डिपेन्डर दिपक गुरुङ्ग, बेस्ट मिड फिल्डर सन्तोष तमाङ्ग घोषित भएका थिए ।
प्रतियोगिताको समापन समारोहमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले विजेता र उपविजेता टिमका खेलाडीहरुलाई ट्रफी र मेडल प्रदान गर्नु भएको हो । पुष २८ गते देखि आयोजीत प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टिमको सहभागिता थियो ।