जनयुद्धका कारण नेपालमा गणतन्त्र आएको होः उपराष्ट्रपति पुन



थवाङ : उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको बताएका छन् ।

माओवादी जनयुद्धको उदगम थलो रोल्पाको थवाङस्थित आफैंले विद्यालय तहको अध्ययन गरेको वीर बलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्न आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले जनयुद्ध सम्झिए । मुलुकका अन्य भेगमा गणतन्त्रको नारा सिथिल भइसकेका बेला थवाङ र रोल्पाले उक्त नारा सशस्क्त रुपमा उठाएर मुलुकभर नै जागरण पैदा गरेको उनको भनाइ थियो ।

सिंगो मुलुकका जनतालाई राजनीतिक अधिकारप्रति सचेत गराउन थवाङले खेलेको भूमिका अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरे । अब भने थवाङले राजनीतिक मूलप्रवाहमा समाहित भएर समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्ने उपराष्ट्रपतिले बताए । ‘इतिहासमा थवाङ र रोल्पा सधैं राज्यसत्ताको विरुद्ध उभियो । जनयुद्धमार्फत गणतन्त्रको झण्डा उठायो’, उपराष्ट्रपतिले भने–‘जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको छ । नेपालबाट सामान्तवादको अन्त्य भएको छ । गणतन्त्र र संविधान हाम्रो बच्चा हो । बाबुआमाले माया गरेर बालबच्चा हुर्काएजस्तै हामीले संविधानको संरक्षण गर्नुपर्छ, यसलाई हुर्काउनुपर्छ ।’ संविधानले नागरिकलाई कुनै पनि अधिकारबाट बञ्चित नगराएको भन्दै उनले संविधानले स्वामित्व थवाङ र रोल्पाले लिने स्पष्ट गरे । ‘सधैं एउटै बाटोमा मात्र हिँडिरहँदा परिस्थितिले लात हान्न सक्छ, थुक्न सक्छ’, उनले भने, ‘पहिल्यैदेखि राज्यसत्ताका विरुद्ध उभिएका हामी अब स्थानीय तह, प्रदेश र संघीय सरकारमा छौं । अब जनतालाई माग राख्न मात्र सिकाएर हुँदैन । हामीले माग पूरा गर्नुपर्छ ।’

रोल्पालीहरु मुलुकको साधनश्रोत वितरण गर्ने ठाउँमा पुगेकाले अब आफ्नो गाउँ र जिल्लाको सबै मिलेर विकास गर्नुपर्नेमा उनको जोड थियो । विगतमा रोल्पाली नेतृत्व र जनता एकाकार हुँदा मुलुकबाटै सामन्तवादको अन्त्य भएको भन्दै उनले विकास र समृद्धि हासिल गर्न पनि नेतृत्व र जनता एकाकार हुनुको विकल्प नरहेको बताए । उपराष्ट्रपतिले आफूहरुले सहिदको रगतको मूल्य नभुलेको चर्चा गर्दै सहिदलाई कुनै व्यक्ति र पार्टीको पेवा बनाउने प्रयास नगर्न पनि चेतावनी दिए । विद्रोही हुँदा र हाल राजनीतिको मूलप्रवाहमा प्रवेश गरेपछिको रोल्पा र थवाङको अवस्थामा धेरै फरक आइसकेको भन्दै उनले केही पनि भएन भन्ने निराशा त्याग्न आग्रह गरे । ‘नुन बोक्न दाङ र कोइलाबास जानुपथ्र्यो । अहिले आफ्नै घरमा नुन आइपुगेको छ । सहिद मार्गका कारण थवाङसम्म गाडी आएको छ । खोलाहरुमा पुल बनेका छन् । कृषिमा आधुनिकीकरण हुँदैछ ।

नेपालकै ठूलो सोलार ग्रिड थवाङमा बनिरहेको छ । स्वास्थ्य र शिक्षाको अवस्थामा धेरै सुधार भएको छ । सिंगो जिल्ला विद्युतीकरण हुँदैछ’, उपराष्ट्रपतिले भने, ‘ रोल्पा र थवाङको अनुहार फेर्ने कामको नेतृत्व क्रान्तिबाट आएका रोल्पाली नेताहरुले गरिरहेका छन् ।’

फरक प्रसंगमा उपराष्ट्रपति पुनले संविधानमा शिक्षालाई मौलिक हकका रुपमा लेखिए पनि निजीकरणलाई निरुत्साहन नगरेसम्म सामुदायिक विद्यालयको स्तर सुधार्न कठिन हुने बताए । प्रतिस्पर्धी र राष्ट्रहितमा समर्पित विद्यार्थी उत्पादन गर्ने खालको शिक्षा नीति जरुरी रहको उनले बताए । धनीलाई एक प्रकारको र गरिबलाई अर्को प्रकारको शिक्षा हुने अवस्था कायमै रहे समाजमा द्वन्द्व, अशान्ति, भ्रष्टाचार र अनियमितता नघट्ने भएकाले सम्वद्ध सबैलाई त्यसलाई मनन गर्नुपर्ने उनको भनाइ थियो ।

उपराष्ट्रपतिले सोही विद्यालयबाट ३४ वर्षअघि एसएलसी पास गरेका थिए । कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले यसै आर्थिक वर्षभित्र रोल्पा जिल्लाभर विद्युतीकरण गरिसक्ने योजना रहेको बताए । ‘यही वर्षभित्र जिल्लाको सबैतिर बिजुली पुगिसक्छ’, मन्त्री पुनले भने, ‘अब अँध्यारो रोल्पा रहँदैन । रोल्पा उज्यालो हुन्छ ।’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले नेपालकै सबैभन्दा ठूलो सोलार मिनी ग्रेड थवाङमा निर्माण भइरहेको भन्दै अब थवाङमा जनताले अँध्यारोमा बस्ने दिन सकिएको घोषणा गरे । यस्तै धेरै सडक आयोजनाहरुको स्तरोन्नतीको काम अघि बढेको भन्दै उनले रोल्पाको विकासमा प्रतिबद्ध रहेको उल्लेख गरे । कृषि, व्यापार प्रर्वद्धन र पर्यटक भित्र्याएर जिल्लाको मुहार फेर्न सकिने चर्चा गर्दै उहाँले आफू त्यस काममा लागिपरेको बताए । मन्त्री पुनले राजनीतिक रुपमा केही फरक भए पनि विकासका काममा सबै मिलेर अघि बढ्नुको विकल्प नहरेको बताए । ‘राजनीतिक रुपमा हामी फरक ठाउँमा हुन सक्छौं । थवाङमा पनि होला’, मन्त्री पुनले भने, ‘हामी सबैको साझा दुश्मन गरिबी, अविकास र पछौटेपन हो । त्यसविरुद्ध मिलेर जुधौं ।’ उनले राजनीतिको केन्द्रमा रहेको रोल्पालाई अब विकास, समृद्धि, उद्यमशील र पर्यापर्यटनको केन्द्र बनाउने घोषणा गरे । विकासको सबैभन्दा आधारभूत पूर्वाधार शिक्षा भएकाले राज्य, अभिभावक सबैले शिक्षामा लगानी बढाउनुपर्ने स्पष्ट गरे । मन्त्री पुन र पूर्वसभामुख ओनसरी घर्तीले आफूहरुको दुई-दुई महिनाको तलब वीर बलभद्र नमुना माविको अक्षयकोषका लागि दिने घोषणा गरे ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा गणतन्त्र स्थापना गर्न थवाङको ठूलो भूमिका रहेको स्मरण गरे । थवाङ सचेत र जागृत जनता बस्ने थलो भएको भन्दै मन्त्री पोखरेलले अब स्तरीय शिक्षाको थलो बनाउन सुझाव दिए । मन्त्री पोखरेलले विद्यार्थीलाई घोकाउँदै परीक्षा केन्द्रमा लैजाने र तीन घण्टा लेखेको आधारमा उसको सिकाई मापन गर्ने थोत्रो विधिले शिक्षामा पुणात्मक परिवर्तन नआउने भएकाले वर्तमान सरकार त्यसलाई फेर्न सक्रिय भएको उनको भनाइ थियो ।

नेपालका बालबालिकालाई जिपनोपयोगी र प्रतिस्पर्थी शिक्षा दिने योजना सरकारले बनाएको बताए । मन्त्री पोखरेलले शिक्षकलाई राजनीतिक दलको कमिटीमा नबस्न सुझाव दिँदै राजनीतिमा लगाउने समय कक्षा कोठामा लगाए शिक्षामा परिवर्तन आउन थाल्ने उल्लेख गरे । ‘मलाई भेटेको बेलामा म फलानो शिक्षक संगठनको नेता हुँ, ट्रेड युनियनको नेता हुँ भनेर परिचय नदिनूस्’, मन्त्री पोखरेलले भने, ‘आफ्नो विद्यालयमा पढाइ राम्रो रहेको, विद्यार्थी राम्रा रहेको सुनाउनुहोला ।’ उनले हाल सामुदायिक विद्यालयमा अंग्रेजी भाषामा कक्षा लिने क्रम बढेको भन्दै त्यसो गर्दा विद्यार्थीको नेपाली भाषा कमजोर हुने र अंग्रेजी भाषाको उपनिवेश हुने खतरा रहेको तर्फ सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्