संविधान संशोधनका लागि नेकपाले गठन गर्‍यो कार्यदल, माधव नेपाल संयोजक



काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।

नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको हो । शनिबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरे पनि यो निर्णय नेताहरुले लुकाउँने प्रयास गरेका छन् ।

नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा सो कार्यकदल गठन भएको हो । नेकपा स्रोतले दिएको जानकारी अनुसार कार्यदलको सदस्यमा नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा रहेका छन् ।

नेकपा उपाध्यक्ष रहेका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउँने बैठकमा चर्चा भएको थियो । तर बैठकमा गौतमले राष्ट्रियसभा सदस्य पनि प्रतिनिधिसभा सदस्य जस्तै प्रधानमन्त्री हुने गरी संविधान संशोधन भए मात्रै आफू राष्ट्रियसभा सदस्य स्वीकार गर्ने बताए पनि सो कार्यदल गठन भएको नेकपा स्रोतको दावी छ ।

तर कार्यदल सदस्य रहेका नेम्वाङले संविधान संशोधनका लागि कार्यदल गठन भएको बारेमा आफूलाई जानकारी नभएको बताए । आफुलाई कुनै कार्यदलको सदस्य बनाएको हो भनेर आधिकारिक रुपमा जानकारी पनि नदिइएको उनले बताए ।

‘यदी कुनै कार्यदल गठन हुन्थ्यो भने पहिला मलाई सोधिन्थ्यो तर कसैलाई सदस्य राख्नुभन्दा अघि सोध्नुभएको छैन्’ नेम्वाङले भने, ‘त्यस्तो कुनै कार्यदल गठन भएको हो भन्ने कुरा मेरो जानकारीमा छैन् ।’

नेकपामा पहिलादेखी नै गौतमलाई राष्ट्रियसभा सदस्य बनाउँने चर्चा चल्दै आएको छ । सरकारको सिफारिसमा गौतमलाई सदस्य बनाउँने चर्चा यस अघि पनि भएको हो । तर गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन भए मात्रै सो पद स्वीकार गर्ने बताउँदै आएका छन् ।

केही समय अघि गौतम निवास भैंसेपाटीमा दाहाल, नेपाल, झलनाथ खनाल लगायतका नेताहरुको सहभागितामा भएको एक भेलाले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउँदै संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउँने सहमती भएको थियो ।

यता नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सचिवालय बैठकमा कार्यदल गठन गर्ने बिषयमा छलफल भए पनि गठन नभएको बताए । बैठकमा छलफल भएको सत्य भए पनि कार्यदल गठन नभएको उनले बताए ।

नेकपाले संविधान संशोधन गर्ने क्रममा प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उठाउँदै आएको केही मुद्धा पनि सो सम्बोधन गर्ने आन्तरिक तयारी गरेको छ । जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई रिहा गर्ने र संशोधन मार्फत राजपाको माग पनि सम्बोधन गर्दै नेकपाले राजपालाई संघीय सरकारमा भित्रयाउँने रणनीति बनाएको छ ।

उता प्रदेश २ मा रहेको समाजवादी पार्टी र राजपा गठबन्धनको सरकार परिवर्तन गर्दै त्यहाँ नेकपा र राजपा गठबन्धनको सरकार बनाउँने तयारी नेकपाको रहेको छ । नेकपा अध्यक्ष दाहालले आईतबार जनकपुरधाममा पुगेर प्रदेश २ को सरकार परिवर्तन हुने संकेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्