बुहारीसँग अनैतिक सम्बन्ध राख्ने बाबुको छोराद्वारा हत्या



रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकामा डेढ साताअघि यहाँ भएको बुबाको हत्याको घटनामा छोराको संलग्नता रहेको खुलेको छ । बुहारीसँग अनैतिक सम्बन्ध राखेको फेला पारेपछि छोराले बाबुको हत्या गरेका हुन् । प्रहरीले बुवाको हत्या गरेको भन्दै छोरालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । 

रौतहटको गौरस्थित जिल्ला प्रहरी कार्यालयमा सोमबार बुबाको हत्यामा संलग्न राजकुमारलाई सार्वजनिक गरिँदै ।

गत माघ २८ गते बिहान राजकुमार पण्डित कुम्हारले आफनै बाबु ७० वर्षीय फेकन पण्डितको गत हतौडा र धारीलो हतियारले विभत्स हत्या गरेका हुन्। केही समय देखि बुबा र आफ्नै श्रीमतीबिचको सम्बन्धबारे राजकुमारले थाहा पाएका थिए। त्यही कारण घर नजिक रहेको गोठमा सुतेका बुबालाई धारिलो हतियार प्रहार गरी छोराले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए। ‘अनुसन्धानको क्रममा छोराको संलग्नता पायौं,’ उनले भने, ‘उनले बुबाको हत्या गरेको स्वीकारेका छन्। बुबाको किन हत्या गरे भन्ने अनुसन्धानबाट खुल्दै जान्छ।’ प्रहरी स्रोतका अनुसार राजकुमारका श्रीमती र बुबाबिच केही समयदेखि अवैध सम्बन्ध थियो। राजकुमारले सम्बन्धबारे थाहा पाइसकेका थिए।

साताको चार दिन मृतक ससुराले बुहारीलाई गोठमै बोलाउँथे। श्रीमान राजकुमार सुतेको मौका छोपी ससुरा भएको स्थानमा जान्थें। घटना भएको बिहान श्रीमती ओछ्यानमा नदेखेपछि राजकुमार सिधै गोठमा पुगे। त्यही दुवैलाई भेट्टाएपछि उनले नजिक रहेको हतौडाले बुबाको टाउकोमा प्रहार गरे। त्यसपछि हल्ला गरे ठीक नहुने भनेर श्रीमतीलाई धम्क्याए। बुबाको हत्यापछि राजकुमारले नै गाउँलेलाई गुहारेका थिए। बुबामाथि आक्रमण भयो भनेर उनले गाउँलेलाई खबर गरेपछि प्रहरी पुगेको थियो। त्यतिखेरसम्म कसले हत्या गरेको भन्ने खुलेको थिएन। प्रहरीले तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको थियो। त्यसबेला पनि कुकुरले राजकुमारलाई झम्टेको थियो। त्यहाँ केही शंका गरिएपनि हत्या भएको परिवारकै सदस्यलाई अनुसन्धानको दायरमा ल्याउन तत्काल समस्या नभएको एसपी खड्काले बताए।एसपी खड्का अनुसार अनुसन्धान गर्दै जाँदा बिहान ३ बजे बुहारी–ससुरा सुतेको स्थानमा किन गयो भन्ने चासोको विषय भएकाले त्यही कोणबाट सोधपुछ थाल्यौं। त्यसपछि पोल खुल्न थाल्यो। प्रहरीले राजकुमारलाई तत्कालै नियन्त्रणमा लिएको थियो। उनकै बयान अनुसार बुवा र श्रीमतीबिचको अवैध सम्बन्धका कारण हत्या गर्नुपरेको खुलेको छ। जिल्ला प्रहरीका डीएसपी नविन कार्कीले राजकुमार उपर ज्यान सम्बन्धी मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाइ थप अनुसन्धान सुरु गरिएको जनाए। पिपरा बजारमा किराना पसल गरेर बसेका राजकुमारले बाबु र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाइ छ। यो समाचार आजको कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्