ओली–प्रचण्डबीच बालुवाटारमा भेट, संविधान संशोधन र बाँस्कोटामाथि छानविन गर्ने विषयमा छलफल हुँदै



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का दई अध्यक्षबीच आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

बिहान १० बजेबाट प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रिय सभा सदस्यलाई पनि प्रतिनिधि सभा सदस्यले जस्तै प्रधानमन्त्री बन्न पाउन सक्ने संविधान संशोधनका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

साथै सेक्युरिटी प्रेस खरिदमा निवर्तमान सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनबारे गरेको डिलिङको अडियो बाहिरिएपछि बाँस्कोटामाथि थप छानविन गर्ने विषयमा पनि दुवै अध्यक्षबीच छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

गत शनिबार नेकपाले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको थियो । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

स्थायी कमिटी सदस्य सुवास नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई सदस्य तोकिएको छ ।

यो विषय गोप्य राख्ने र गोप्य रूपमै त्यसले काम गर्ने तय भएको थियो । तर, कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावमा उक्त निर्णय भएको सचिवालयका एक सदस्यले बताए । शनिबार गोप्य राखिएको निर्णय आइतबार सार्वजनिक भएपछि नेकपामा यसले विवाद निम्त्याएको छ ।

प्रतिक्रिया दिनुहोस्