भ्रमण वर्ष : भैरवस्थान बन्दै पर्यटकीय गन्तव्य



पाल्पा : रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, सामाजिक–सांस्कृतिक एवं धार्मिक हिसाबले महत्व बोकेको पाल्पा भैरव धार्मिक आस्थाको केन्द्रका साथै पर्यटकलाई आकर्षित गर्न समेत सफल भएको हो ।

धार्मिक आस्था बोकेका मानिसहरु मन्दिरमा दर्शन गर्ने र दुःखसुखमा देवीलाई पुकारा गर्छन् । हिन्दू धर्मप्रति आस्थावान्, ऐतिहासिक महत्व खोज अनुसन्धान गर्न कै लागि मन्दिरमा टहलिँदा पर्यटक लोभिन्छन् ।

भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीका अनुसार दैनिक एक हजार भक्तजनले मन्दिरमा दर्शन गर्दै आएको बताए। उनले मन्दिरमा दर्शन तथा भम्रणका टोलीले मन्दिर क्षेत्रमा बिहानैदेखि चहलपहल हुने बताए।

पर्यटकको चहलपहलका कारण मन्दिरमा आम्दानीको स्रोतसमेत बढ्दो छ । अध्यक्ष अधिकारीले गत आव २०७५÷०७६ सालमा रु ८५ लाख मन्दिरमा आम्दानी भएको बताए।

नेपाल एकीकरणका बेला पाल्पा शक्तिशाली राज्य हो । शक्तिशाली सेन राजाको राज्य रहेकोले पनि यस भूमिको ऐतिहासिक महत्व अझै पनि प्रशस्त छ । ऐतिहासिक महत्वको खोज अनुसन्धानका लागि स्वदेशी मात्र होइन विदेशीहरु पाल्पा भैरव मन्दिर क्षेत्रमा टहलिछन् ।

समितिका सचिव नवराज ज्ञवालीका अनुसार गतवर्ष लाखौ आन्तरिक पर्यटक मन्दिरमा भ्रमण एवं दर्शन गर्न आएको बताए। सचिव ज्ञवालीले नेपालीसँग झण्डै तीन हजार विदेशी पर्यटक मन्दिरमा आएको बताए।

विदेशीहरु चिनियाँ, बेलायती, अमेरिकी, रसियन, भियतनामीलगायतका नागरिक मन्दिरमा अनुसन्धान र अवलोकनका लागि आउने गरेको सचिवको ज्ञवालीको भनाइ थियो । भारतबाट वार्षिक ६०० देखि एक हजार हाराहारीमा पर्यटक मन्दिरमा पूजा गर्न आउने गर्छन् ।

पाल्पा भैरव पहिला पहिला धार्मिक आस्थाको केन्द्रको रुपमा मात्र सीमित थियो । तर, धार्मिक तथा ऐतिहासिक रुपमा यसको चर्चा र महत्व बाहिरिएपछि पर्यटकीय गन्तव्यको रुपमा बदलिएको हो ।

पर्यटकीय गन्तव्यका रुपमा विकास भएसँगै सरकारले सुरक्षा चासो बढाएको छ । पाल्पा भैरव मन्दिरका लागि एक प्रहरीको व्यवस्थासमेत गरिएको छ । मन्दिर क्षेत्रमा मानवीय रुपमा सम्भावित जोखिमको न्यूनीकरणका लागि सीसीटीभी जडान गरिएको छ ।

तानसेनदेखि करिब १० किलोमिटर पश्चिममा भैरव मन्दिर छ । तानसेन हार्थोक सडकखण्डअन्तर्गत भैरवस्थानमा मन्दिर पर्छ । पाल्पा तानसेनदेखि भैरवस्थानसम्म यातायातको सहज व्यवस्था छ ।

एकिकरणपूर्व चौबिसे राज्यमध्ये पाल्पा पनि एक थियो । सेन वंशका राजा मुकुन्द्र सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा पूर्वका काशी र पश्चिममा हरिद्वारसम्म फैलिएको थियो । काठमाडौँ खाल्डोमा विसं १५१५ मा आक्रमण गर्दा मच्छिन्द्रनाथको विहारको पटाङ्गिनीमा रहेको भैरवको मूर्ति ल्याएर स्थापना गरेको मानिन्छ ।

भैरव मन्दिरको माथिल्लो तलामा सर्वसाधारणको दर्शनार्थ कीर्तमुख भैरवको स्थापना गरिएको छ । खास भैरवलाई सर्वसाधारणले हेर्न हुँदैन भन्ने मान्यता छ । सो भैरव मूर्ति भुइँतलामा छ । बगलमा कालीको मूर्ति छ ।

मन्दिरमा भाक्कल पूजा, क्षमापूजा, पञ्चबलि पूजा हुन्छ । यहाँ प्रसादको रुपमा चढाइने रोटको विशेष महत्व हुन्छ । नेपाली एकीकरणका समयमा पाल्पाका सेन राजालाई शक्तिशाली राज्यका रुपमा मानिन्छ ।

सेन राजाका पालामा भैरव मन्दिर स्थापित भएको हो । पाल्पा भैरव मन्दिर टाकुरामा अवस्थित छ । यो टाकुरो एक हजार ४७० मिटर उचाइमा अवस्थित छ । हाल मन्दिरको परिसरले ११ रोपनी चार आना तीन दाम क्षेत्रफल ओगटेको छ ।

मन्दिरमा अहिले दश बाह्र स्थायी कर्मचारी र दैनिक ज्यालादारीका रुपमा ४०÷५० ले रोजगारी पाएका छन् । स्थानीय बासिन्दाले रोट पकाउने तथा मन्दिरमा चढाउने सामग्रीको कारोबारबाट रोजगारी तथा स्वरोजागर सिर्जना हुँदै आएको सचिव ज्ञवालीको दाबी छ ।

म–छि–या–न्द्रा ना–थाँ लेखिएको ऐतिहासिक झ्याली पाल्पाली सेन राजा मुकुन्द्र सेनले भैरवमूर्तिसँग झ्याली पनि ल्याएको तर्क एउटा समूहको छ । अर्को अनौठो जनविश्वास पनि झ्यालीसँग जोडिएको छ । हालको पूर्णकोटको डाँडामा झ्याली आकाशबाट खसेको भन्ने जनविश्वास छ ।

करिब १४ इन्चको वृत्तको एउटा काँसको झयाली छ । झयालीको एकपाखा फुटेकोले बाँधेर आकार कायम गरिएको छ । झ्यालीको मध्य भागको प्वालको घेरामा गोलाकार गरी छ वटा पुष्पपत्रहरु कुँदिएको छ । पुष्पपत्रमा एक एक अक्षर म–छि–या–न्द्रा ना–थाँ लेखिएको ऐतिहासिक झ्याली छ । – रासस

प्रतिक्रिया दिनुहोस्