मदिरारहित समाज निर्माणमा देवघाट



तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रममा लागेको हो ।

गाउँपालिकाले विभिन्न वडामा स्थानीयवासीलाई भेला गराई मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

लागुऔषधको प्रयोग तथा बिक्री वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणका लागि पहल कदमी थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।

मदिरा व्यवस्थापनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी सभ्य पालिकाका रुपमा यो गाउँपालिकालाई विकास गर्ने उद्देश्यले अभियान शुरु गरिएको उनले बताए ।

घरमा आउने अतिथि पाहुनाहरुलाई मदिराको अलावा दूध, दही, फलफूल र चियाले स्वागत गर्ने बानी बसाल्न आग्रह गरिएको उनले जानकारी दिए ।

गाउँपालिकाका सबै वडामा मदिरा व्यवस्थापनसम्बन्धी सचेतना जगाउने कार्यक्रम सञ्चालन गरी विभिन्न टोल विकास संस्थाहरुलाई सक्रिय बनाई सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

उक्त कार्यक्रममा देवघाट इलाका प्रहरी कार्यालयका प्रमुख उज्वलराज सिलवालले मदिरा व्यवस्थापन र लागुऔषधको कारोबार तथा प्रयोग गरेमा हुने सजायका बारेमा सचेत गराएको बताए ।

देवघाट घण्टाचुली पर्यटन क्षेत्रका अध्यक्ष खड्का आलेले नमूना गाउँपालिका बनाउनका लागि सबै तह र तप्काबाट लागिपरेको हुँदा यो अभियान सफल हुने विश्वास व्यक्त गरे‍ । रासस

प्रतिक्रिया दिनुहोस्