एसइईमा उत्कृष्ट अंक ल्याउन विद्यालयमा थप कक्षा



कैलाली : कैलालीका सामुदायिक विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यालयमा थप कक्षा सञ्चालन गरेका छन् ।

विद्यालयको सिकाइ उपलब्धि सुधार गरी उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई सहयोग होस् भनी थप कक्षा सञ्चालन गरिएको हो । टीकापुरस्थित राष्ट्रिय मा.वि मौरनियाले विद्यालयमै ‘डे होस्टेल’ संचालन गरेको छ ।

मौरनियामा कक्षा १० का विद्यार्थीलाई बिहानै बोलाउने र साँझसम्म विद्यालयमै राखेर पढाउन थालिएको छ । ‘‘कक्षा १० का विद्यार्थीका लागि बिहान, दिउँसोको खाजाको व्यवस्था विद्यालयमै गरिएको छ । विद्यार्थीको पढाइमा थप प्रगतिका लागि अभिभावकसँगको सल्लाहमा यसरी पढाउन थालिएको हो”, प्रधानाध्यापक शम्भुराज भट्टराईले भने,“साँझ र बिहानको समयमा उनीहरुलाई थप कक्षा दिएर अध्यापन गर्न थालेका छौँ ।”

एसइई परीक्षा विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलो मानिन्छ । एसइईको नतिजाले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले सरस्वती मावि बनाउनले पनि कक्षा ८, ९ र १० का विद्यार्थीलाई साउन महिनादेखि नै बिहानको समयमा थप कक्षाको व्यवस्था गरेको छ । ‘‘राम्रो नतिजा ल्याउन ८ कक्षाबाटै मिहिनेत गर्नुपर्छ भन्ने ठानेर चालू आवको साउन महिनादेखि निरन्तर थप कक्षाको व्यवस्था गरेका छौँ”, प्रधानाध्यापक खगेन्द्र घर्तिमगरले भने, “विद्यार्थीले कुन विषय पढ्ने, भविष्यमा गएर के गर्ने भन्ने कुरा एसइईपछि निर्धारण हुने भएकाले हामी समयमै सचेत बनेका हौँ ।”

विद्यालयको नतिजामा सुधार गर्नका साथै बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन त्यहाँका विद्यालयले विभिन्न रणनीति बनाएका छन् । कर्णाली मा.वि टीकापुरले पनि असार महिनाबाटै नियमित थप कक्षाको व्यवस्था गरेको छ । विद्यालयले कमजोर विद्यार्थीका लागि विशेष निगरानीसहित कक्षा संचालन गरिरहेको प्रधानाध्यापक धर्मराज शर्माले बताए । ‘‘असारदेखि नै थप कक्षा चलिरहेको छ, त्यसमा पनि कमजोर विद्यार्थीका लागि विशेष कक्षासमेत सञ्चालन गरेका छौँ”, प्रधानाध्यापक शर्माले भने,“अभिभावकलाई विद्यालयमा बोलाएर उनीहरुको पढाइमा विशेष ख्याल गर्न र समय व्यवस्थापन गर्न अनुरोधसमेत गरेका छौँ ।”

टीकापुरकै खड्ग स्मृति मा.वि टीकापुरले भने विद्यार्थीका लागि थप कक्षा सञ्चालनको साटो शुरुदेखि नै बढीभन्दा बढी अभ्यासमा जोड दिएको जनाएको छ । प्रधानाध्यापक केशर रावलका अनुसार विद्यालयमा थप कक्षाको व्यवस्था नभए पनि अभ्यासमा जोड दिने गरी अध्यापन गराउने गरिएको छ । “हाम्रा लागि सबै कक्षाको नतिजा महत्वपूर्ण छ । हामी सधैँ विद्यार्थीको सिकाइ उपलब्धि र नतिजा राम्रो बनाउने प्रयासमा हुन्छौँ”, रावल भन्छन्,“कक्षा १० मात्र नभई सबै कक्षाका विद्यार्थीलाई उत्तिकै महत्व दिएर अध्यापन गर्छौं ।”

टीकापुर नगरपालिकाले पनि सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई विषय छनोट जस्ता कार्यमा सहयोग होस् भनी मनोसामाजिक परामर्श दिने कार्य गरिरहेको छ । शिक्षा अधिकृत नरेश अवस्थी हरेक विद्यालयमा कक्षा १० का विद्यार्थीलाई एसइईपछि विषय छनोटमा सहज होस् भनी परामर्श दिन थालिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्