कुलतको दलदलमा युवापुस्ता : विकराल बन्दै लागूऔषध कारोबारी र दुर्व्यसनी समस्या



जनकपुरधाम : धनुषामा लागूऔषध दुर्व्यसनीको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक र लागूऔषध दुर्व्यसनमा लागेकाहरुको उपचारका लागि स्थापना गरिएको सामुदायिक पुनर्स्थापना केन्द्रको तथ्यांक केलाउँदा धनुषामा दुर्व्यसनीहरुको संख्या बढेको देखिएको हो ।

धनुषा जिल्लाभरीमा मदिरा, गाँजा, भाँग, कोरेक्स र अन्य नशालु ट्याबलेट सेवन गर्ने युवाहरुको संख्या लगभग १० हजार रहेको पुर्नस्थापना केन्द्रका कार्यक्रम संयोजक सन्देश पराजुलीले जानकारी दिए ।

यता विगत केही वर्षयता लागूऔषध कारोबारमा संलग्न भएकाहरुलाई पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालयले तीब्र बनाएको छ । प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ५७ जना, २०७२/०७३ मा ३६ र वर्ष २०७३/०७४ मा ५१ जनालाई लिईएको थियो । त्यसैगरी चालू वर्ष माघ महिनासम्ममा अन्त्यसम्ममा ५७ जना लागूऔषध कारोबारी तथा दुर्व्यसनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले केही वर्षदेखि लागूऔषधविरुद्ध अभियान तीव्र बनाएपछि मात्रै लागूऔषध कारोबारी तथा दुर्व्यसनहरुको संख्यामा वृद्धि भएको देखिएपनि यो अवस्था पहिल्यैदेखि नै विकराल रहेको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार वस्नेतले बताए ।

प्रहरी उपरीक्षक वस्नेतले जिल्ला प्रहरीले दुर्व्यसनमा लागेका युवाहरुलाई पक्राउ मात्रै गरेर होइन की उनीहरुको अभिभावकहरुलाई समेत आ–आफ्नो बालबालिकामा निगरानी बढाउन तथा उनीहरुको क्रियाकलापमाथि ध्यान दिन आग्रह गर्दै आएको बताए । उनका अनुसार जिल्लामा दुव्र्यसनीको संख्या बढ्दै जाँदा सुरक्षा चुनौतीसमेत बढेको जानकारी दिए ।

प्रहरी उपरीक्षक वस्नेतले आफूहरुले प्रत्येक हप्ताको शुक्रबारका दिन कुलतमा फसेकाहरुलाई एक स्थानमा भेला गराई लागूऔषधले शारीरिक, आर्थिक र सामाजिक रुपले पुर्याएको नकारात्मक असरहरुकाबारे जानकारी दिने गरेको बताए । खुल्ला सीमा नाकाका कारण लागूऔषध जस्ता विकृतिमा लाग्न युवाहरुलाई झन् बढी सहयोग पुर्याइरहेको प्रहरी उपरीक्षकको भनाइ छ ।

यता लागूपदार्थ दुर्व्यसनीहरुको संख्यामा वृद्धि भएपनि सुधार गृहमा उपचार गराउन आउनेहरुको संख्या भने न्यून रहेको देखिन्छ । उक्त केन्द्रमा अहिले ३५ जना कुलतमा फसेकाहरु उपचाररत छन् । दुर्व्यसनमा लागेकाहरुले घरभित्र र बाहिर चोरी, कुटपिट, होहल्ला, पक्राउ पर्नु जस्ता नकारात्मक घटनामा उत्रिएपछि मात्रै अभिभावकले सन्तानलाई उपचारका लागि सुधार गृह ल्याउने पुर्नस्थापनाका कार्यक्रम संयोजक पराजुलीले जानकारी दिए । सुधार गृहले दुव्र्यसनीहरुलाई सुरुको ३ महिनादेखि ६ महिनासम्म अण्डर ट्रिमेन्ट गर्ने गरेको संयोजक पराजुलीले बताए ।

पराजुलीका अनुसार त्यसपछि उनीहरुलाई विभिन्न किसिमका उत्प्रेरणा जगाउने खालको क्रियाकलाप गराउने, मनोपरामर्श दिने गरिन्छ । उनले कुलतमा फसेकाहरुको पुरानो संगत छुट्टाउनकै लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सुधार गृहमै राख्ने, खानपान गराउने र नयाँ नयाँ साथी बनाउन उत्साहित गर्नेजस्ता प्रयोगहरु गरेर कुलतबाट निकाल्न प्रयास गर्दै आएको बताए । उनले सुधार गृहबाट सुधार भई घर गएकाहरुमध्ये पनि पुनः दुर्व्यसनमा लागेको जानकारी दिए ।

युवाहरु लागूऔषध जस्ता कुलतमा फस्नुको मुख्य कारण गलत संगत र अभिभावकले सन्तानको क्रियाकलापमाथि ध्यान नदिनु नै रहेको सरोकारबालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्