‘नन् इस्युलाई इस्यु’ बनाउन विपक्षी कुखुराका चल्लाझैं पछिपछि कुदेका छन् : प्रधानमन्त्री



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको आरोप लगाएका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सो कुुरा बताएका हुन् ।

आज (सोमबार) दिउँसो नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उनी पोखरा पुगेका हुन् ।

विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाउदै प्रधानमन्त्री ओलीले भने–‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने । नन् इस्युलाई इस्यु बनाउने ? किन यस्तो भइरहेको छ ? एउटा अस्तित्व रक्षा गर्नका लागि गरिरहेका छन् अर्को केही न केही त गर्नुपर्यो नि, त्यसैले ।’

उनले थप्दै भने– ‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ । त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन् । संसदमा विधेयकहरू पेश प्रस्तुत गर्छौं, त्यहाँ छलफल गरे हुन्छ नि । संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने भइरहेको छ ।’

संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यसअघि प्रधानमन्त्री ओलीलाई पोखरास्थित जनप्रिय क्याम्पस परिसरमा समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेका थिए । सो क्रममा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने प्रयास गरेपछि प्रहरीले उनीहरुले पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा ६ जना विद्यार्थी नेता रहेपनि उनीहरुको नाम सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्