संसद बैठक अवरुद्ध नगर्ने कांग्रेस, समाजवादी र राजपाको सहमति



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायत तीन दलले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने सहमति गरेको छ ।

आज (सोमबार) कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)सहित बसेको बैठकले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेका हुन् ।

बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संसद अवरुद्ध गरेर मात्र समस्याको समाधान नहुने बताएकी छन् । उनले भनिन्–‘हामी तीन दल मिले अघि बढ्ने समझदारी बनाएका छौं ।’

निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको थियो ।

कांग्रेसबाट सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की र अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया र राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण छलफलमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्