डा. केसीको फोक्सोमा निमोनिया



काठमाडौं: डा. गोविन्द केसीमा निमोनियाको समस्यासँगै अक्सिजन र सेतो रक्तकोषिका (डब्लुबिसी)को कमी देखिएको चिकित्सकहरूले बताएका छन् । शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियूमा राखिएका केसीको देब्रे फोक्सोमा निमोनियाको संक्रमण छ, जसको उपचारका लागि स्लाइनमार्फत एन्टिबायोटिक चलाइएको उपचारमा संलग्न डाक्टरले बताए । 

केसीको रगतमा अक्सिजनको मात्रा घटेको छ । चिकित्सक टोलीले अक्सिजन दिने प्रयास गरे पनि केसीले मानेका छैनन् । डब्लुबिसीको मात्रा निकै घटेकाले निमोनियाको संक्रमण पैmलिने खतरा रहेको डाक्टरले बताए । ‘निमोनिया र अक्सिजनको कमीसँगै डब्लुबिसी पनि कम हुँदा इन्फेक्सनको खतरा उच्च हुन्छ । जटिल अवस्था निम्तिन सक्ने भएकाले उहाँलाई आइसियूमा राखिएको हो,’ ती डाक्टरले भने ।

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भए पनि सरकारले ध्यान नदिएको भन्दै केसीका समर्थकले राजधानीमा प्रदर्शन गरेका छन् । शनिबार ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाइमा माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा चिकित्सा शिक्षा अध्ययनरत विधार्थी, चिकित्सक, नागरिक समाजका प्रतिनिधि र आम सर्वसाधारणको सहभागिता थियो । 

प्रदर्शनमा सहभागीले डा.केसीको माग तत्काल संबोधन गर्न सरकारसँग माग गरे । उनीहरूले डा. केसीको स्वास्थ्य गम्भीर बनिसक्दा पनि उनले उठाएका जायज माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका नयाँ पत्रिकामा खवर छ । चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै डा. केसीले ११ दिनअघि इलाम पुगेर १६ औं अनसन थालेका थिए । तर, स्वास्थ्य खराब भएपछि शुक्रबार इलाम अस्पतालबाट उनलाई काठमाडौं ल्याइएको थियो । 

प्रतिक्रिया दिनुहोस्