कांग्रेस नेताको घरमा आगजनी, ३ वाट मोटरसाइकल जलेर नष्ट



वीरगन्ज : वीरगन्ज महानगरपालिकाको परवानिपुर स्थित नेपाली कांग्रेसका एक नेताको घरमा अज्ञात समुहले आगजनी गरेको छ ।

महानगरपालिकाको वडा नं.२१ परवानीपुरका किशोरी ठाकुरको घरमा अज्ञात समुहले आगजनी गरेको हो । आगजनीबाट घरको बरण्डामा राखिएको ३ वटा मोटरसाइकल जलेर नष्ट भएको छ ।

आगजनीबाट ना १० प ८५५४, ना ३२ प १८२८ र प्रदेश २९ ०९ ३००५ प ७८६३ नं.को ३ वटै मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको र घरको पर्खालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

आइतबार राती करीब १२ बजेतिर अज्ञात समुहले घरको बरण्डामा पेट्रोल छर्किएर मोटरसाइकलमा आगो लगाएर फरार भएको घरधनी ठाकुरका भतिजा अभिषेक ठाकुरले बताए । परवानीपुरबाट पटेलनगर जाने सडक फराकिलो बनाउने काम ठाकुरकै अगुवाइमा भइरहेको र सडक विस्तारका क्रममा केही दिनअघि स्थानीय केही व्याक्तिसँग विवाद भएकाले त्यसैको रिसबीको कारण आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ ।

आगजनी गरेको आशंकामा प्रहरीले सोमबार ठाकुरका छिमेकी राजाराम यादवलाई नियन्त्रणमा लिएको छ । सोमबार घटनास्थलमा पुगेकी पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्