‘वाइड वडी काण्ड दाहाल, देउवा र ओलीको सहमतिमा’



काठमाडौं: एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाइड वडी विमान खरिद प्रकरण पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीवीच सहमतिमा भएको आरोप लगाएका छन्।

शनिबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रमा बोल्दै उनले भने, ‘यो काण्ड दुई भुतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखिएको छ।’ यस प्रकरणमा दोषी जोसुकै भएपनि छानबिन गरी निष्कर्षमा पुग्न उनले माग राखे। वाइड वडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप लगाउदै उनले भने, ‘यो प्रकरणमा संसद्लाई मन्त्रीले ठाडै ढाँटे। अरु देशमा भएको भए कारबाही हुन्थ्यो।’

वाइड वडी प्रकरणमा छानविन गर्न र सत्य, तथ्य बाहिर ल्याउन पर्यटनमन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्ने पनि माग गरे। उनले भने, ‘पर्यटनमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्दछ र, अख्तियारले अबिलम्ब छानबिन सुरु गर्नुपर्छ।’ अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता पालना गर्नुपर्ने उनले बताए। केसीसँग सरकारले पटकपटक सम्झौता गरेको तर त्यसलाई कार्यान्वयन नगरी उपेक्षा गरेको उनले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्