कोरोनाभाइरसः चीनबाहिर संक्रमण बढ्न थालेपछि डब्लूएचओले दियो यस्तो चेतावनी



एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

कोरोनाभाइरसको प्रकोपलाई अहिले नै ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू “तयारीको चरणमा” रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको हो।

स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड-१९को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ।

सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको छ।

ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ।

बहराइनका अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति विद्यालयका बस चालक हुन्।

कोरोनाभाइरस

विश्व स्वास्थ्य सङ्गठनको भना

डब्लूएचओका प्रमुखले सोमवार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना “निकै चिन्ताजनक” रहेको बताएका छन्।

उनले भने: “के यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना छ? पक्कै पनि छ। तर के हामी त्यहाँ पुगि सक्यौ? हाम्रो मूल्याङ्कनले भन्छ हालसम्म त्यस्तो भएको देखा परेको छैन।”

विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकै पटक खतरा उत्पन्न गरायो भने त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ।

कोरोनाभाइरस

हालसम्म करिब ३० राष्ट्रमा उक्त भाइरसको सङ्क्रमण भएका १,२०० भन्दा बढी घटना पुष्टि भइसकेको छ भने २० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

इटलीमा सोमवार तीन जनाको मृत्यु भएको छ।

यो सँगै त्यहाँ कोरोनाभाइरसका कारण ज्यान जानेको सङ्ख्या छ पुगेको छ।

चीनबाट सुरु भएको भाइरसका कारण त्यहाँ हालसम्म करिब २६०० जनाले ज्यान गुमाएका छन्।

त्यस्तै चीनमा करिब ७७,००० मा उक्त भाइरसको सङ्क्रमण रहेको बताइएको छ।

प्रभाव

भाइरसले पार्न सक्ने आर्थिक प्रभावको चिन्ताबीच विश्वव्यापी शेयर बजारमा तीव्र गिरावट देखिएको छ।

उक्त भाइरससँग जुझ्ने पहल जारी राखेको चीनले त्यसलाई कायम राख्न प्रत्येक वर्ष मार्च महिनामा हुने न्याशनल पिपल्स कङ्ग्रेस सार्ने बताएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका निर्णय पारित गर्ने उक्त बैठक सन् १९७८ यता प्रत्येक वर्ष हुँदै आएको छ।

कोभिड-१९ बाट सङ्क्रमितहरू मध्ये मृत्यु हुनेको सङ्ख्या १ देखि २ प्रतिशत रहेको बताइए पनि डब्लूएचओले मृत्यु दर हालसम्म थाहा भई नसकेको बताएको छ। वीवीसी नेपाली सेवाबाट साभार

प्रतिक्रिया दिनुहोस्