आपराधिक गतिविधि बढेपछि, ३१ वटा सिसिटिभी क्यामेरा जडान गरी निगरानी शुरु



रूपन्देही :रुपन्देही जिल्लाको भैरहवा शहरमा आपराधिक गतिविधि बढ्दै गएपछि सिसिटिभीबाट निगरानी गर्न थालिएको छ ।

२१ लाखको लागतमा सिसिटीभी क्यामेरा जडान गरी बजारमा भएको चोरीलगायतका आपराधिक गतिविधिलाई निगरानी गर्न नगरभित्रका महत्वपूर्ण ठाउँमा ३१ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

सिसिटिभी जडानको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिसिटिभी जडान उपभोक्ता समिति बनाएर सिसिटिभी जडान गरेको हो । सिसिटिभी डवल रे इन्जिनियरिङ एण्ड मल्टी सप्लायर्सले भैरहवाको अञ्चलपुरदेखि आँखा अस्पताल चोक, लुम्बिनी गेटदेखि मायादेवी फलफूल तरकारी बजार हुँदै बीपीपथ चोक र बजार क्षेत्र, मिलन चोक, विद्रोही चोकलगायत क्षेत्रमा सिसिटीभी जडान गरेको छ ।

हिजो (सोमवार) भैरहवास्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपभोक्ता समितीले सिसिटिभी जडान परियोजना हस्तान्तरण तथा सहयोगी संस्थाहरुलाई सम्मान कार्यक्रमको आयोजना गरी सिसिटीभी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई हस्तान्तरण गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले सुरक्षाको दृष्टिकोणबाट महत्पूर्ण मानिएको स्थानहरुमा सिसीटीभी क्यामेरा जडान भएकाले नगरपालिकाको सुरक्षामा सिसिटिभीले अहम भुमिका हुने बताईन् । प्रमुख जिल्ला अधिकारी महादेव पन्तले पछिल्लो समय चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक हेम बहादुर थापाले केही समय अघि भैरहवामा भएको लुटपाटपछि हत्याको घटनामा सिसिटिभी फुटेजकै कारण घटना घटाउने व्यक्ती समाउन प्रहरी सफल भएको अनुभव सुनाउँदै सिसिटिभीले सहरको सुरक्षामा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्