वर्षाले जागेको बाली



जाजरकोट : हरेक वर्ष मुस्किलले एक बाली लगाउने पश्चिम जाजरकोटका स्थानीयवासी यस पटक दुई बाली लगाउँदा खुशी भएका छन् । उत्पादनका हिसाबले आयातित अन्न प्रयोग गर्न बाध्य स्थानीयवासी यस पटकको वर्षाले दुई बाली लगाउन पाउँदा खुशी भएका हुन् । वर्षायाममा आकाशे पानीको भरमा मकैखेती गर्दै आएका पश्चिम जाजरकोटका स्थानीयवासी अहिले हिउँदयाममा पनि सोचेजति पानी परेपछि गहुँबालीसमेत खेतबारीमा फलाउन पाउँदा खुशी भएको छेडागाड नगरपालिका–५ का रेशम शाहीले जानकारी दिए ।

“हाम्रो गाउँमा सिँचाइको सुविधा छैन, आकाशे पानीको भरमा खेती लगाउनुपर्छ, योपटक हिउँदयाममै प्रशस्त पानी परेपछि गहुँबाली सप्रिएको छ”, उनले भने । यहाँजस्तै जुनिचाँदे गाउँपालिका–७ का महेन्द्र खड्काको खुशी कम छैन । उनको जमीनमा पनि योपटक दुईबाली लगाउने अवसर जुटेको भन्दै खुशी भएको बताए ।

उनले भने, “यस्तै हरेक वर्ष वर्षा भएको भए बाहिरबाट अन्न बेसाएर ल्याउनुपर्ने थिएन । हाम्रो खेतबारीमा उत्पादन गरेको अन्नले छ महिना नपुग्ने भएकाले बाहिरबाट चामल ल्याएर खानुपर्ने बाध्यता छ । सायद यो वर्ष अन्न खरिद गर्नुपर्दैन होला ।” मकैबाली उत्पादनका हिसाबले मुख्यबाली हो । धान उत्पादन गर्ने खेत नहुँदा चामलका लागि खाद्य संस्थान र स्थानीय बजारको विकल्प नभएको छेडागाड नगरपालिका–३ दशेराका स्थानीयवासी टेकबहादुर थापाले बताए ।

तीन स्थानीय तह पश्चिम जाजरकोटमा पर्दछन् । खेतीयोग्य जमीन धेरै भए पनि सिँचाइ सुविधा नहुँदा वर्षायाममा मकै, कोदोले भरिभराउ हुने जमीन हिउँदयाममा रित्तो हुने गरेको स्थानीयवासी बताउँछन् । हिउँदयाममा पानी परेमा मात्र गहुँबाली स्थानीयवासीले लगाउँछन् । “जमीन भएर के गर्नु, सिँचाइ नहुँदा बाँझो राख्नुको विकल्प छैन”, छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष प्रेम खत्रीले भने, “नगरपालिकासँग ठूलो बजेट छैन, अब प्रदेश र सङ्घ सरकारको भर पर्नुपर्ने बाध्यता छ ।”

छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा १५ प्रतिशत खेतीयोग्य जमीनमा मात्र धौधौले सिँचाइ सुविधा पुगेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए । उनले भने, “हामीसँग बजेट छैन, प्रदेश र सङ्घ सरकारसँग सिँचाइका लागि अनुरोध गरेका छौँ ।” उनका अनुसार वडा नं ११ को ढुङ्गिल सिँचाइ आयोजना र वडा नं १० को नाउलीखेत सिँचाइ आयोजना निर्माण जारी छ । वडा नं १२ सालवगर र वडा नं १ खाराखेतमा सिँचाइ आयोजना निर्माण भई कृषकले सिँचाइ सुविधा उपभोग गरिसकेका छन् ।

किसानसँग नगरप्रमुख कार्यक्रम

कृषकको जीवनस्तर सुधार्नका लागि छेडागाड नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । रु ४० लाख रकम विनियोजन गरेर जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना अधिकृत देवबहादुर बुढाले जानकारी दिए । यो कार्यक्रममार्फत सहकारी, समूह र उत्पादन समूहलाई बजेट उपलब्ध गराएर कृषकको जीवनस्तर माथि उठाउने लक्ष्य लिइएको नगर प्रमुख महतराले जानकारी दिए ।

उत्पादनका हिसाबले कुन ठाउँमा के बाली बढी उत्पादन हुन्छ सोही हिसाबले पकेट क्षेत्र घोषण गरेर काम गर्ने योजनाका साथ अगाडि बढेको उनको तर्क छ । यो वर्ष कृषकलाई खेतबारी जोत्न सजिलो होस् भनी हातेट्र्याक्टर, टिमुर टिप्दा प्रयोग हुने औजार वितरण गरिरहेको छ । त्यस्तै वन तथा वातावरण मन्त्रालयबाट वडा १, २ र ३ मा टिमुरका लागि विशेष क्षेत्र घोषण गरी काम शुरु भएको छ ।

नगरपालिकाले नगरका सबै वडामा टिमुर खेतीका लागि अघिल्लो वर्ष ५५ हजार बेर्ना उत्पादन गरी कृषकलाई वितरण गरेको थियो भने अहिले वडा नं १२ मा ६५ हजार बेर्ना उत्पादन भइरहेको छ । मौसमअनुसारको बीउसमेत वितरण गरिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्