झापाका २ स्थानीय तहमा मकैजोन कार्यक्रम



झापा: झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि त्यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् ।

झापा गाउँपालिकाको वडा नं.६ र कनकाई नगरपालिका-५ मा गरी ५ सय हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम संचालन गरिएसँगै त्यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका हुन् ।

धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ । अझ सरकारले झापामा मकैजोन कार्यक्रम संचालन गरेपछि मकैखेतीका लागि त्यहाँका कृषक थप उत्साहित बनेका छन् ।
उत्पादनका लागि उर्वरभूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकैजोन सञ्चालनका लागि चालू वर्ष संघीय सरकारबाट १ करोड २४ लाख ६५ हजार बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन एकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए ।

झापामा प्रत्येक वर्ष १ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । झापामा वसन्ते मकै ३१ हजार हेक्टर, हिउँदे मकै आठ हजार हेक्टर र बर्खे मकै ९०० हेक्टरमा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

उत्पादनका हिसाबलेसमेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा उन्नत जात (हाइब्रिड) मकैखेती गर्दै आएका छन् । झापामा मकैजोन कार्यक्रम लागू भएपछि मकैखेती गर्ने कृषकको संख्या बढ्दो छ ।

झापा गाउँपालिकाको ६ वडामा झण्डै ८० प्रतिशत क्षेत्रफलमा मकैखेती गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । १ बिघा क्षेत्रफलमा त्यहाँका कृषकले १ लाखदेखि १ लाख ५० हजारसम्म मकै बेचेर आम्दानी गर्ने गरेको गाउँपालिका–३ निवासी देवकुमार गणेशले बताए ।

उनले भने, “अन्य बाली (गहुँ, तोरी, फापर, आलस) को तुलनामा मकैखेतीबाट धेरै आम्दानी हुने भएपछि म मात्रै होइन झापाका सबैजसो कृषक अहिले मकैखेती नै गर्छन् ।” गणेशले पनि उन्नतजातको मकैखेती गर्नुभएको छ । उहाँले वर्णशङ्कर (हाइब्रिड) मकै लगाउनुभएको छ । विगत वर्षदेखि नै आफूले मकैखेती गर्दै आएको र गाउँपालिकाले अहिले कृषकलाई मकैखेतीका लागि प्रोत्साहन गरेपछि थप उत्साह मिलेको उनको भनाइ छ ।

सोही स्थानका गणितप्रसाद गणेशले पनि मकैखेती शुरु गरेको आठ-दश वर्ष नै भयो । उनले पनि मकैखेतीबाटै मनग्य आम्दानी गर्दै आएका छन् । एक बिघामा १४० मन मकै उत्पादन हुने गरेको गणेशले बताए । उनले अहिले ‘छैसठ्ठी जिरो सात’ प्रजातिको हाइब्रिड (वर्णशंकर) मकैखेती गरेका छन् । “स्थानीय प्रजातिको मकैमा भन्दा हाइब्रिड मकैखेतीमा राम्रो आम्दानी हुन्छ”, उनले भने, “एक बिघामा खर्च कटाएर पनि १ लाख नाफा हुन्छ ।”

धेरै क्षेत्रफलमा र व्यावसायिक मकै खेती गर्ने कृषकमध्मे पदम सुवेदी पनि एक हुनुहुन्छ । उनले अहिले ३ बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । उन्नत जातको मकैको बीउ नेपालमा नपाइने र मकैको बीउ खरिदमा धेरै पैसा जाने भएकाले नेपालमै उन्नत जातको मकैको बीउ तयार गरेर कृषकलाई सरकारले उपलब्ध गराउने हो भने मकैखेती गर्ने कृषकले निराश बन्नुपर्ने अवस्था सिर्जना हुने थिएन ।

अहिले मकैको बीउ खरिदका लागि भारतीय बजारको भर पर्नु परेको उनको भनाइ छ । झापा गाउँपालिकाले कृषकका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै मकैखेतीका लागि प्रोत्साहन गरेको छ । यसबाट गाउँपालिकाका कृषकले अहिले तोरी र गहुँखेती भन्दा धेरै क्षेत्रफलमा मकैखेती गरिरहेको गाउँपालिकाका अध्यक्ष साहले बताए । रासस

प्रतिक्रिया दिनुहोस्