राप्रपा एकतामा राजसंस्था बाधक



काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राप्रपा राष्ट्रवादीबीच राजसंस्थाको व्याख्याको विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै रोकिएको छ । तीनवटै राप्रपाबीच गत २६ कात्तिकमा एकता गर्ने गरी मिति घोषणा गरिएको भए पनि राजसंस्था, हिन्दू धर्म र निर्वाचन चिह्नका विषयमा सहमति हुन नसकेपछि अन्तिम समयमा एकता भाँडिएको थियो । सो बखत राप्रपा संवैधानिक राजसंस्थाको पक्षमा उभिएको थियो भने राप्रपा (प्रजातान्त्रिक) ले भने सो विषयमा सहमति जनाएको थिएन ।

राप्रपा स्रोतका अनुसार एकता प्रक्रियालाई टुंगोमा लैजान राजसंस्थालाई कसरी व्याख्या गर्ने भन्नेमा दुई राप्रपाका अध्यक्ष चरणबद्ध रूपमा छलफलमा बसिरहेका छन् । गत २९ पुसमा समेत दुई अध्यक्षबीच अनौपचारिक छलफल भएको थियो । तर, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणा संवद्र्धनवादी उदारवादसहित पुराना संस्थाको व्याख्या गरिनुपर्ने पक्षमा उभिएपछि दुई राप्रपाबीचको एकतामा सहमति जुटेको छैन । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाले राजसंस्थाका विषयमा भन्दा पनि पुराना संस्थालाई गरिने व्याख्याका विषयमा आफ्नो पार्टीको फरक दृष्टिकोण रहेको बताए ।

‘संवद्र्धनवादी उदारवादसहित पुराना संस्थाहरुको व्याख्या गरिनुपर्छ भन्ने मेरो धारणा हो, एकता प्रक्रियाका लागि पहल जारी छ, अहिले नै निष्कर्षमा पुगेका छैनौं,’ राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाले भने । राप्रपा नेता जयन्त चन्दले भने नेता, कार्यकर्ता, शुभेच्छुक र मतदाताहरुबाट समेत एकताका पक्षमा व्यापक दबाब आएको जनाए । ‘भिन्न समूहमा रहेका राप्रपाबीचको एकताका लागि नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाता सबैबाट व्यापक दबाब छ, एकताका लागि बोल्ड अन्डरस्ट्यान्डिङ आवश्यक छ,’ चन्दले भने ।

स्रोतका अनुसार राप्रपाभित्र राजसंस्थासहित महाधिवेशनअघिको अध्यक्ष को हुने भन्नेमा समेत समस्या देखिएको छ । राप्रपा अध्यक्ष थापा तीन राप्रपाबीच एकता महाधिवेशनअघि अध्यक्ष मण्डल बनाएर नेतृत्वका विषयमा सहमति जुटाउने पक्षमा छन् भने अर्का राप्रपा अध्यक्ष राणाले महाधिवेशनअघिको अध्यक्षमा आफूले दाबी गरेको राप्रपा स्रोतले बताएको छ । अध्यक्ष राणाले अध्यक्षको दाबीबारे भने मुख खोल्न चाहेनन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले २५ कात्तिकको एकताअघि हिन्दू धर्म र निर्वाचन चिह्नका विषयमा देखिएको असहमति पनि सहमतिनजिक पुगेको दाबी गरे । तर, राजसंस्थाका विषयमा भने केही फरक मत देखा परेको उनको भनाइ रहेको राजधानीमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्