१० क्विन्टल अबैध कुखुरा बरामद गरी नष्ट



कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौंडीबाट अबैध रुपमा भारतबाट ल्याउँदै गरेको १० क्वीन्टल कुखुरा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेड क्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायव निरीक्षक केशवदत्त विष्टको कमाण्डमा रहेको गस्ती टोलीले मोटरसाइलमा ल्याउँदै गरेको चार सय वटा जिउँदो (१० क्विन्टल) कुखुरा बरामद गरेको थियो ।

बरामद कुखुरा दुई लाख ४० हजार मूल्य बरावरको रहेको सशस्त्र प्रहरीको भनाई छ । अबैध कुखुरा बोक्न प्रयोग गरिएका ४ थान मोटरसाइल समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार से २ प ६८३, म १ प ४६९, म २ प १२६४ र भारतीय यु.पी. ३१ वि.सी ८५०१ नं.को मोटरसाइल बरामद गरिएको हो । सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा तस्करीमा संलग्नहरू भागेका थिए ।

बरामद गरिएका कुखुरा सरोकारवालाहरुको रोहवरमा सोमबार नै नष्ट गरिएको थियो । मोटरसाइल भने भन्सार कार्यलयमा बुझाउने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्