रवीन्द्र अधिकारी चढेको हेलिकप्टर उडानमा भएकोे त्रुटिसहितको प्रतिवेदन सार्वजनिक (हेर्नुहोस पूर्णपाठ)



काठमाडौं : गत फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो । अत्याधिक हिमपात र मौसम खराबीका कारण दुर्घटना भएको बताइएको थियो ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त दुर्घटनाको छानविन गर्नका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा बनाएको समितिले प्रतिवेदन प्रकाशित गरेको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष रहेको छ ।

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो। विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो। मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने अनुमान समितिको रहेको छ ।

हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ। दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेका हो ।

पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेकाले पाइलटले परिस्थितिजन्य सावधानी गुमाएको र दुर्घटना भएको समितिको प्रतिबेदनमा उल्लेख छ । दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०.२ नटिकल माइलमात्र (३७० मिटर) रहेको छ। हेलिकप्टरले राउन्ड लगाएको प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्