बङ्गुरपालन व्यनवसायमा क्रियाशील वडाध्यक्ष



कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिक बङ्गुरपालन शुरु गरेका छन् ।

आधुनिक खोरको निर्माण गरी चाँडै हुर्कने उन्नत जातका बङ्गुरपालनमा उनी संलग्न भएका हुन् । बङ्गुरपालनका लागि ७ लाख बढी रकम खर्चिएको बताएका छन् । ६ महिनाअघि खरिद गरेर ल्याइएका २५ वटा बङ्गुरका पाठा हुर्कंदै गएका छन् ।

खोरमा राखिएका पाठा वयस्क हुँदै गएकाले बच्चा जन्माउने अवस्थामा पुगेका छन् । खोरमा एम्पासायर, डयुरेक, ल्याण्डरस जातका बङ्गुर पालिएका छन् । पशु प्राविधिकको सल्लाहमा बङ्गुरपालन गरेका वडाध्यक्ष ऐरले खोर आधुनिक तरिकाले निर्माण गरेका हुन् ।

खोर निर्माणमा मात्रै २ लाख बढी रकम लगानी गरिएको उनले बताए । बङ्गुरको खोर सफा गर्नेदेखि चारोको व्यवस्थाका लागि उनी आफैं खटिएका छन् । कार्यालय समयमा जनताको काममा व्यस्त हुने उनले बिहानीको समय र साँझको समय बङ्गुरको हेरचाह गर्नमै खर्चिदै आएका छन् ।

“वडा कार्यालय नजिकै घर भएकाले सेवाग्राही नभएका बेला बङ्गुरको अवस्था बुझ्न र चारो खुवाउनका लागि खोरमा पुग्ने गरेको छु”, उनले भने, “दैनिक बङ्गुरले ३५ किलो बढी चारो खाने गरेका छन् । चारो खुवाउनेदेखि खोरमा बङ्गुरले गर्ने फोहर सफा गर्न पनि आफैँ खटिने गरेको छु ।” काम विशेषले बाह्य क्षेत्रमा जानुपर्ने भए उनले कामदारलाई त्यस कार्यका लागि खटाउने गरेका छन् ।

बङ्गुरको खोरसँगै जोडेर माछापालनका लागि पोखरीसमेत निर्माण गरिएको छ । बङ्गुरले गरेको फोहर सिधै पोखरीमा खस्ने गरेको छ । पोखरीमा रहेका माछाले सो फोहर चारोका रुपमा खाने गर्दछन् । बङ्गुरसँगै पोखरीमा माछापालन गरिएकाले माछाबाट समेत आम्दानी हुने गरेको छ ।

पहिला माछापालनका लागि ५ कठ्ठा जग्गामा पोखरी मात्रै निर्माण गरिएको थियो । उनले भने, ‘माछापालनबाट वार्षिकरुपमा छ क्विन्टल बढी माछा उत्पादन हँुदै आएको थियो । पशु विज्ञको सल्लाहमा पोखरीसँगै बङ्गुरपालन गरिएपछि माछाका लागि छुट्टै चारोको व्यवस्था नगर्नुपर्ने सुझाव पाइएपछि बङ्गुरपालनलाई सँगसँगै लगिएको छ ।’ विगतमा माछाको उत्पादन मात्रै वार्षिकरुपमा झण्डै २ लाख जति हुने गरेको थियो ।

बङ्गुरपालनसंगै पोखरीमा माछाको भुरा मात्रै यस वर्ष २ हजार बढी छाडिएका छन् । माछाको उत्पादन विगतको तुलनामा दोब्बर हुने उनको भनाइ छ । कमन, रोहु, विगेट, नैनी, ग्रासकार्पलगायतका माछा पोखरीमा पालिएका छन् ।

“बङ्गुरपालनबाट छोटो अवधिमै राम्रै आम्दानी गर्न सकिन्छ” उनले भने, “यसले पोखरीमा पालिएका माछाको उत्पादन पनि बढ्ने भएको छ ।” उनले आफ्नै स्वामित्वको खाद्य उद्योगसमेत भएकाले माछा र बङ्गुरका लागि चारोको व्यवस्था गर्न अन्यत्र जानुपर्ने अवस्थासमेत छैन ।

२ करोडको लागतमा संचालन गरिएको खाद्य उद्योगमा वार्षिकरुपमा १० हजार बोरा धानबाट चामल उत्पादन हुने गरेको छ । चामल मात्रै ६५ लाख बढीको निर्यात हँुदै आएको उनले बताए । उत्पादित चामल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निर्यात हँुदै आएको छ ।

चामल उत्पादन गर्दा निष्कने, खुदी, ब्रान, भुसलगायत बङ्गुर र माछाको चारोका रुपमा प्रयोग हुने गरेको छ । खाद्य उद्योगमा मात्रै उनले १२ जनालाई रोजगारी दिएका छन् । खाद्य उद्योग वडाध्यक्ष हुनुभन्दा अगाडिदेखि नै उनले संचालन गर्दै आएका छन् ।

आर्थिक रुपमा सवल बन्नका लागि आयआर्जनका कार्यमा संलग्न हुँदै आएको उनले बताए । खाद्य उद्योगको कमाइको केही रकम माछापालन र बङ्गुरपालनका लागि लगानी गरिएको उनको भनाइ छ । उनले भने, “राजनीति समाज सेवाको पेशा भएकाले जनताको सेवामा खटिनुपर्छ, त्यसका लागि आर्थिक अवस्था मजबुत नभए हँुदैन । त्यसलाई पूर्ति गर्नका लागि बङ्गुर, माछापालन र खाद्य उद्योगमा संलग्न भएको हँु ।” राजनीति विशुद्ध समाज सेवाको पेशा भए पनि केही व्यक्तिले कमाइ खाने साधनका रुपमा प्रयोग गर्दा बदनामसमेत भएको बताए ।

आर्थिक अवस्था सबल नहुँदा नै राजनीतिमा आएकाले नै बदमासी गर्दा विकासमा अवरोध हुने गरेको छ । ती कार्य न्यूनीकरण गर्नका लागि राजनीतिमा संलग्न भएका र हुन चाहनेले आर्थिक अवस्थालाई मजबुत बनाउन आयआर्जनका कार्यमा संलग्न हुनु जरुरी छ ,उनले भने-“आयआर्जनका कार्यमा संलग्न भए पैसाका लागि अरुसँग हात थाप्नु पर्दैन । बदमासी गरेर धन कमाउनु पनि पर्दैन । जसले गर्दा समाजलाई सदाचारको पदमा डोर्याउन सकिन्छ । बेरोजगारले रोजगार पनि पाउँछन् । समाज आफै समृद्धितर्फ लम्किन्छ ।”

समृद्ध समाज निर्माण गर्नका लागि मनमा दृढ संकल्प लिएर आजैदेखि आयआर्जनका कार्यमा लाग्न सबै राजनीतिकर्मीलाई उनको सुझाव छ । उनले भने,“भ्रष्टाचार न्यूनीकरणमा यस कार्यले टेवा पुर्याउँछ ।” यसैगरी वडाध्यक्ष ऐरले हाँससमेत पालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्