लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षा नै राजनीतिक लक्ष्य : मुख्यमन्त्री राउत



जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकतन्त्र,
गणतन्त्र र संघीयताको रक्षा नै आफूहरुको राजनीतिक लक्ष्य रहेको बताएका छन् ।

नेपाली कांग्रेस धनुषाले गान्धीबादी नेता स्वर्गीय महेन्द्र नारायण निधिको ९८ औँ जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले थोरै कानून बनाएपनि संघीयता बचाउनमा कुनै कसर बाँकी नराखेको बताए ।

उनले भने, ‘हामीले थोरै कानून बनाएपनि त्यो आफैमा महत्वपूर्ण छ, हामीले प्रहरी प्रशासन ऐन, करार कर्मचारी ऐन लगायतका महत्वपूर्ण कानूनहरु बनाएका छौं । हामीले प्रहरी ऐन बनाएपछि संघीय सरकारले अहिले त्यो कानूनलाई परिमार्जन गरी नयाँ कानून बनाउन बाध्य भयो, यो हाम्रो लागि ठुलो सफलता हो ।’

उनले संघीयताको वकालत गर्ने विरुद्ध संघीयता विरोधीहरुले चारै तर्फबाट घेरा हाल्ने काम गरिरहेको बताए ।

उनले स्वर्गिय महेन्द्र नायाराण निधिलाई स्मरण गर्दै वर्तमान राजनीतिक परिस्थितीमा निष्ठा र निस्वार्थको राजनीतिको साटो आफ्नो स्वार्थसिद्धिका लागि मात्र मिसन राजनीतिक गर्नु दुःखद रहेको बताए । उनले भने,
‘अहिले राजनीतिकर्मीको सबैथोक अर्थात स्वार्थप्राप्त गर्ने माध्यम नै राजनीतिक मिसन बनेको छ । जनताको लागि राजनीतिक गर्नेहरु अहिले पनि थोरै छन् ।’

नेकपा अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्दै ठाउँ अनुसार बोल्ने र मधेशसंग प्यार देखाउन जेपनि गर्न तयार हुनेहरुसंग केहि अपेक्षा गर्नु मुर्खता रहेको उनले बताए । संघीयता र जनताका लागि राजनीतिक गर्नुको साटो प्रदेश नम्बर २ को सरकार परिवर्तन गर्न तर्फ ध्यान दिनु गलत रहेको उनको टिप्पणी थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले प्रदेश नम्बर २ मा कुनैपनि हालतमा नेकपाको सरकार बन्न नहुने बताए । उनले यसका लागि प्रदेश नम्बर २ मा समाजवादी पार्टीलाई नेपाली कांग्रेस हरेक ढंगले समर्थन गर्न तयार रहेको बताए ।

प्रदेश सरकार परिवर्तनमा राजपा नेपालले नेकपालाई सहयोग गरेमा कांग्रेसले समाजवादी पार्टीलाई समर्थन गरेरपनि सरकार ढल्न नदिने उनले स्पष्ट पारे ।

उनले राजपा नेपाललाई सत्ता समिकरण मिलाउनका लागि साम, दाम,दण्डभेदको नीति अपनाउन मुख्यमन्त्री राउतलाई सुझाए ।

पूर्व खानेपानी मन्त्री समेत रहेका यादवले भने, ‘नेकपाको सरकार रहुञ्जेल वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गरि कार्यदल बनाएर संशोधन गर्न सक्छन्, तर मधेशको समस्या समाधानका लागि संविधान संशोधन गर्न नसक्ने सरकारसंग अपेक्षा गर्नु मुर्खता हो ।’

उनले कांग्रेसकै कारण संघीयता बाँचेकाले अब कांग्रेसको बहुमतीय सरकार आएमात्रै संघीयता, सिमांकन र नागरिकता लगायतका समस्या सामाधान हुने बताए ।

कांग्रेस धनुषाका सभापति महेश शंकर गिरीको सभापतित्वमा आयोजित कार्यक्रममा संसदीय दलका नेता राम सरोज यादव,केन्द्रिय सदस्य रामकृष्ण यादव,नेपाली कांग्रेस धनुषाका उपसभापति संतोष यादव लगायतका वक्ताहरुले नेपाली राजनीतिका शिखर पुरुष गान्धीवादी नेता स्व।निधिको योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्