चीन–अमेरिका व्यापार वार्ताको प्रभाव विश्व सेयर बजारमा



एजेन्सी: चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको संकेतसँगै विश्वको सेयर बजारमा वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एसियाली सेयर बजार निकै मजबुत देखिएको आर्थिक सूचकांकले देखाएको छ । चीन र अमेरिकाबीच केही दिनपहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको सन्देशसँगै विश्व सेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो ।

प्रमुख सूचकांकमा एक प्रतिशत वा त्योभन्दा बढीका दरले लगातार चार दिनसम्म नाफा देखिएको वालस्ट्रिटले बताएको छ । अमेरिकी स्टक बजार (डाउ) मा २४ डिसेम्बर पछि १३ प्रतिशतको वृद्धि देखिएको छ । बेइजिङले विगत पाँच वर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व सेयर बजारमा सकारात्मक सन्देश गएको ब्लुमवर्गले उल्लेख गरेको छ । अनलाइन बजारका विश्वहस्ती व्यापारीको संगठन (आईजी)का वरिष्ठ बजार विश्लेषक जोसुआ माहोनीले भने, ‘विश्व सेयर बजारमा यस साता आशा गरिएजस्तै व्यापक सुधारका संकेत देखिएका छन् । यो चीन–अमेरिकाबीचको व्यापार विवादमा ‘ब्रेकथु्र’ हुने सम्भावनाले आएको सुधार हो ।’

‘व्यापार सम्झौताका सम्बन्धमा देखिएको आशा नै बजार सुधारका लागि निर्धारक आधार हो,’ एलबीबीडब्लूका कार्ल हेलिङले भने, ‘त्यहाँ एक प्रकारको कालो धुवाँको संकेत देखिएको थियो । जहाँ धुवाँ हुन्छ, त्यहाँ आगो पनि हुनु स्वाभाविक हो । तर, पछिल्ला दिनमा बजारमा सकारात्मक सन्देश फैलिएको छ र यसले सेयर बजारलाई थप ओरालो लाग्नबाट बचाएको छ । तत्काल केही सुधारको संकेत देखिएका छन् । यो सबैका लागि खुसीको कुरा हो ।’

‘ट्रम्पले अर्थतन्त्र कमजोर बन्दै गएको र अमेरिका बन्दको अवस्थालाई महसुस गरेजस्तो देखिएको छ । उनले यसमा आफ्नो जितलाई पुष्टि गर्न केही गर्ने देखिएको छ ।’ तर केही विश्लेषकले व्यापार विवाद साम्य भइहाल्नेमा आशंका व्यक्त गरेका छन् । उनीहरूले अझै धेरै विषयमा सहमतिदेखि धेरै टाढा रहेको बताएका छन् । उनीहरूले बौद्धिक सम्पत्ति चोरीसम्बन्धी अमेरिकाको दाबीलाई चीनले सम्बोधन गरिहाल्ने नदेखिएको बताएका छन् । किनकि, अमेरिकाले लगाएको आरोपलाई खुला रूपमा चीनले खण्डन गर्दै आएको छ । मुद्रा बजार सम्बन्धमा बेलायती मुद्रा कमजोर देखिएको छ । बेलायतले बिनासम्झौता युरोपेली संघबाट बाहिरिने हल्लाले बेलायती मुद्रा केही कमजोर देखिएको हो ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले गरेको बृहत् ब्रेक्जिट योजनालाई सांसदहरूले विफल पारेका छन् । तर, प्रधानमन्त्रीले सोमबारसम्म अन्तरपार्टी छलफलका लागि नै दोस्रो योजना ल्याउने बताइएको छ । यदि सो योजनाले काम नगरेमा मार्चमा हुने भनिएको बेलायतको बहिर्गमन पछि धकेलिनेछ र यसले प्रधानमन्त्रीलाई अर्को सम्झौता गर्न समय दिनेछ वा अर्को जनमतसंग्रहको बाटो तय गर्नेछ । चीन–अमेरिकाबीचको व्यापार वार्ताको सकारात्मक सन्देश र तेल निर्यात राष्ट्रहरूले गरेको तेलको उत्पादनमा कटौतीले कच्चा इन्धनको मूल्यमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्