फिलिपिन्सका सर्वाधिक धनीको निधन



मनिला: फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको ९४ वर्षको उमेरमा शनिबार निधन भएको छ । चीनबाट फिलिपिन्स गएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रूपमा सम्मान गरिन्थ्यो । उनको घर चीनको सिमेन सहरमा थियो । उनले फिलिपिन्समा सपिङ मल खोलेका थिए । विश्वकै ठूला सपिङ मलअन्तर्गत पर्छ त्यो ।

गत शुक्रबारसम्ममा उनको सम्पत्ति १९ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ । यो सम्पत्तिका आधारमा उनी गत वर्ष विश्वकै धनीको सूचीमा ५२औं स्थानमा थिए । उनी मनिला सन् १९५६ मा पहिलो पटक गएका थिए । त्यसपछि उनको व्यापार व्यापक रूपमा फैलियो । काम गर्न युवा अवस्थामा फिलिपिन्स छिरेका सीले जीवनमा धेरै उतारचढाव भोग्नुपरेको थियो ।

सन् २००६ मा फिलिसिन्सको स्टार पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘हाम्रो स्टोर एकदमै सानो थियो, दोस्रो तला र अगाडि–पछाडि भन्ने ठाउँ नै थिएन । एक मात्र कोठा रहेको थियो । हामी अबेर राति काउन्टर बन्द गरेपछि काउन्टरमै सुत्थ्यौं ।’ दोस्रो विश्वयुद्ध चलिरहेका बेला आफ्नो पसल पुरै ध्वस्त भएपछि उनका बुबा चीन फर्किए पनि उनी भने फिलिपिन्समै बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्