नेपालको सबैभन्दा प्रदूषित १० शहरः पहिलोमा काठमाडौं



काठमाडौं : काठमाडौंमा बसोबास गर्ने सबैलाई थाहा नै छ काठमाडौंको हावा कति प्रदूषित छ भनेर । बिहान घरबाट निस्किएपछि बेलुका घर फर्किँदा शरीर र कपडामा टाँसिएका धुलाका कणहरु कति प्रदुषित छन् भनेर सजिल्यै अनुमान लगाउन सकिन्छ । त्यसैले त हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आईक्युएयरले सार्वजनिक गरको प्रतिवेदनमा नेपाको सबैभन्दा प्रदूषित शहरमा परेको छ–काठमाडौं ।

आईक्युएयरको तथ्यांकले काठमाडौंको हावाको गुणस्तर सुचक (एक्युआई) १३४ रहेको उल्लेख गरेको छ । यस तथ्यांकका अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरहरुको सूचीमा १३७ औं स्थानमा परेको छ ।

आईक्युएयरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार सन् २०१९ मा भारतका शहरहरु विश्वमै सबैभन्दा प्रदूषित शहर हुन् । आईक्युएयरले विश्वमै सबैभन्दा बढी प्रदूषित २० वटा शहरहरुको सूची तयार पारेको छ । जसमा १४ वटा प्रदूषित शहर भारतमा रहेका छन् । यसैगरी, पाकिस्तानमा चार वटा र चीनमा दुई वटा शहर रहेका छन् ।

हावाको गुणस्तर मापन गर्ने पीएम २.५ सूचकको एक वर्षको औसतमा मापन गरिएको तथ्यांकको आधारमा यो सूची निकालिएको हो । गत वर्ष विश्वका अधिकांश मुलुकले आफ्नो हवाई गुणस्तरमा सुधार गरेको प्रतिवेदनले देखाएको छ ।

यसमा चीनले आफ्नो हवाई गुणस्तरमा उल्लेख्य सुधार गरेको छ । भारतले पनि आफ्नो गुणस्तरमा केही सुधार गरेको भए पनि जनसंख्याको आधारमा निकालिएको प्रदूषण उच्च छ ।

सन् २०१९ मा विश्वका विभिन्न ९३ मुलुक बस्नको लागि अस्वस्थकर भएको प्रतिवेदनले देखाएको थियो । जनसंख्याको आधारमा निकालिएको औसतको आधारमा दक्षिण एसिया सबैभन्दा प्रदूषित क्षेत्रको रुपमा देखिएको छ ।

नेपालको प्रदूषण सन् २०१९ मा घटेको छ । प्रतिवेदनले गत वर्ष नेपालको जनसंख्याको आधारमा हुने प्रदूषण घटेको देखाएको हो । आईक्युएयरले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको हावाको गुणस्तर संवेदनशील केही समूहका लागि अस्वस्थकर देखिएको छ ।

सन् २०१९ मा नेपालमा हावाको गुणस्तर मापक पीएम स्केल पीएम २.५ औसत ४४ दशमलव ४६ माइक्रोग्राम प्रति वर्गमिटर थियो । सन् २०१८ मा यो सूचक ५४ दशमलव १६ माइक्रोग्राम प्रति वर्गमिटर थियो । यसले नेपालमा हावाको गुणस्तरमा सुधार भएको देखिएको हो ।

काठमाडौंपछि नेपालका अन्य प्रदूषित शहरहरुमा दोस्रो प्रदूषित शहर वीरगञ्ज हो । वीरगञ्जको हावाको गुणस्तर सूचक १२८ छ । यीबाहेक नेपालका शीर्ष १० प्रदूषित शहरमा सिद्धार्थनगर, धनकुटा, कीर्तिपुर, बुटवल, भक्तपुर, भरतपुर, पोखरा र तुलसीपुर छन् ।

के हो एक्युआई ?
यसको पूरा रूप हवाई गुणस्तर सूचक हो । यो हावामा प्रदूषण मापन गर्ने सूचक हो । छुट्टाछुट्टै देशले आफ्नो मुलुकको हावाको गुणस्तर मापनको लागि आफ्नै एउटा सूचक बनाएका हुन्छन् । एक्युआईको प्रयोग अमेरिकाले गर्दै आएको छ । यो सूचकको मान धेरै भए त्यो क्षेत्र बढी प्रदूषित र कम भए कम प्रदूषित भन्ने बुझिन्छ । एक्युआईको मान शून्य देखि ५० को बीचमा भए त्यो क्षेत्र बस्नको लागि स्वास्थ्यको हिसाबले उचित मानिन्छ ।

५० देखि १०० को बीचको एक्युआई भएको स्थान बस्नको लागि ठिकै मानिन्छ । १०१ देखि १५० सम्मको मान केही संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ । २०० सम्मको मान अस्वस्थकर मानिन्छ । ३०० सम्म धेरै नै अस्वस्थकर र त्यसभन्दा बढी ५००को मान भएको स्थानमा बस्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्