बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम



इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका करिब १६ महिलालाई पाँचमहिने सीपमूलक तालिम प्रदान गरेको छ । लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको हो ।

अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको तालिम प्रदान गरी समापन कार्यक्रमसँगै बिदाइसमेत गरिएको माइती नेपालका कार्यक्रम संयोजक सुनिता कार्कीले बताए ।

छ महिनासम्म तालिम लिएर बिदाइ हुने सबै जनाले आत्मनिर्भर हुने गरी समाजमा पुुनःस्थापना भएपछि काम गर्र्नुपर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने कार्यक्रममा उपस्थित अधिकांश वक्ताले बताए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धमराज भण्डारीले मानव बेचबिखनको सञ्जाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ भन्दै यसको न्यूनीकरणमा माइती नेपालले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

औद्योगिक प्रशिक्षार्थी तालीम

उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ र हेल्भेटास नेपालको संयुुक्त पहलमा सुनसरीको इटहरीमा रहेको सगरमाथा गार्मेन्ट्ससँगको सहकार्यमा छ महिने निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिमको आयोजना हुुने भएको छ ।

छ महिनासम्म करिब एक जनालाई कपडा पहिचान, लेयरिङ, कटिङ, मार्किङ, सिलाइ, क्वालिटी चेक, प्रिन्टिङ, फिनिसिङलगायत १२ विधामा तालिम प्रदान गर्ने लक्ष्य रहेको सगरमाथा गार्मेन्ट्सका सञ्चालक डम्बर तामाङले बताए । तालिममा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्