दक्षिण कोरियामा तीव्र गतिमा फैलिँदै कोरोनाभाइरस, १२ जनाको मृत्यु



एजेन्सी : दक्षिण कोरियामा कोविड–१९ भनिने कोरोनाभाइरसले १२ जनाको ज्यान लिइसकेको छ । बुधवार मात्र १६९ वटा नयाँ केस आएका छन् । कुल संक्रमितको संख्या ११ सय ४६ पुगेको छ ।

दक्षिणपूर्वी शहर दाएगुमा एक धार्मिक समूहका ७३ वर्षीय पुरुषको भाइरसका कारण मृत्यु भएको नगर सरकारले जनाएको छ ।

ती व्यक्तिलाई मधुमेह र उच्च रक्तचापको समस्या छ र उनलाई आइतवार अस्पतालमा भर्ना गरिएको थियो ।

शिनचेओन्जी चर्च अफ जिसस नामक धार्मिक समूहका दुई लाख १० हजार सदस्य देशभरि फैलिएका छन् । उक्त चर्चका सदस्यलाई सबभन्दा बढी संक्रमण भएको छ । देशमा पुष्टि भएका संक्रमणमध्ये आधा त यिनै सदस्य छन् ।

यो भाइरसको संक्रमण अघिल्ला भाइरसहरूभन्दा तीव्र गतिमा हुने गरेको देखिएको एक स्वास्थ्य अधिकारीले बताए ।

केन्द्रीय विपत्ति राहत मुख्यालयका उपाध्यक्ष किम गाङ–लिपले थप चिकित्सकहरू दाएगु पठाइएको बताए । अहिलेसम्म २०५ जना चिकित्सक र नर्सहरूले दाएगुमा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

दाएगुमा कोरोनाभाइरसका ८४ प्रतिशत केस शिनचेओन्जीका सदस्यमा देखिएको शहरका मेयरले जानकारी दिएका छन् ।

अहिले शहरमा सबै शिशु स्याहार केन्द्रहरू फागुन २५ गतेसम्मका लागि बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्