‘२० भेडा मरे, कति मर्छन् उपचार गर्न जनशक्ति छैन’-कृषक अधिकारी



जुम्ला : जुम्लाको हिमा गाउँपालिका-६ स्थित महाबैपा थरखोलाका कृषक छत्रबहादुर अधिकारीको २० वटा भेडा मरेको छन् ।

अज्ञात रोगका कारण मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिएका हुन् । उनले भने,“भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे ” अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणको कुनै पहल भएको छैन ।

“जीविकोपार्जन गर्न साना ठूला गरी ६५ भेडा पालेको थिए, २० वटा मरिसके, अझ कति मर्ने हुन्, रोग फैलिएको छ ।” उनले भने । बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन ।

शिखर इन्सियोरेन्समार्फत् पशु बीमा गर्ने भनिए पनि सो गाउँपालिकामा कर्मचारी नहुँदा बीमा पनि हुन नसकेको हो । सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेडा मरेको जानकारी पाएको जानकारी दिए । उनले भने,“ औषधि दिएर पठाएका छौँ ।” शाखामा ७ जना कर्मचारीको दरबन्दी छ तर १ जना मात्र कार्यरत छन्, एक जना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ । ”

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको जानकारी दिए । उनले भने, “कर्मचारी छैनन्, भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्