मास्क र औषधि उत्पादनमा असर, सरकारको तयारी कस्तो छ?



काठमाडौं : करिब दुई महिना अघिदेखि चीनमा सङ्क्रमणकै रूपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । अहिले ३० भन्दा बढी देशहरूमा फैलिएको कोरोनाका कारण २ हजार ७ सय ६९ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने कोरोनाभाइरसको सङ्क्रमण ८० हजार भन्दा बढी मानिसमा देखा परेको छ ।

श्वासप्रश्वासको समस्या उत्पन्न गराउने कोभिड–१९को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ। सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको छ। कोरोनाको असरबाट नेपाल पनि अछुतो छैन ।

नेपालले पनि चीनका प्रमुख नाका, एयरपोर्ट लगायत स्थानमा उच्च सतर्कता अपनाइरहेको छ। कोरोनाको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपाली दुई हप्ते क्वारेन्टाइनमा छन्। हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशीको निगरानीका लागि त्रिभुवन विमानस्थलमा हेल्थ डेस्कको समेत व्यवस्था गरेको छ।

नेपाल प्रवेश गर्ने स्थल नाकाहरू बन्द भएका कारण दैनिक उपभोग्य वस्तु आयात प्रभावित भएको छ । दैनिक उपभोग्य वस्तुदेखि लसुनदेखि सुनसम्म महँगिएकोछ। यसमा औषधि पनि अछुतो रहने कुरा भएन। कोरोनाका कारण औषधिको आपूर्ति र उत्पादनमा असर परेको औषधि उत्पादक संघले जनाएको छ।

नेपालमा औषधि उत्पादनका लागि आवश्यक पर्ने अधिकांश कच्चा पदार्थ चीनबाट आयात हुने गरेको छ। चीनबाट २५ प्रतिशत कच्चा पदार्थ आयात हुँदा भारतबाट ७० प्रतिशत र अरु अन्य देशबाट आयात हुने औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए।

उनले भने, ‘कोरोनाका कारण औषधि उत्पादन र आयातमा धेरै असर गरेको छ। औषधी २ महिनासम्म पुग्ने चैँ स्टक छ। चीनले औषधिको अर्डर पनि लिएको छैन, अझै एक महिनासम्म औषधि उत्पादन भएन वा आयात गर्न सकिएन भने औषधि अभावको अवस्था रहन्छ ।’
उनका अनुसार औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य २० देखि ८० प्रतिशतसम्म बढेको छ ।

बरालले भने,‘ सरकारले औषधिको मूल्य तोकिदिएको हुनाले अहिले नै औषधिको मूल्य बढेको छैन। तर हामीलाई एकदमै महँगो परिरहेको छ। अब हामी पहिलाकै मूल्यमा औषधि बेच्न सक्दैनौँ। यस विषयमा हामीले सरकारसँग छलफल गरिरहेका छौँ। अब सरकारले के भन्छ । सरकारको निर्णय पर्खी रहेका छौँ। ’

नेपालमा प्रयोगमा हुने औषधिमध्ये ५५ प्रतिशत औषधि आयात गर्नुपर्ने अवस्था छ । नेपालमै उत्पादन हुने ४५ प्रतिशत औषधिको लागि पनि कच्चा पदार्थ भने विदेशबाटै आयात गर्नुपर्छ ।

३/४ महिनाका लागि स्टक
कोरोना सङ्क्रमणका कारण औषधि उत्पादन र आयातमा असर परे पनि आत्तिहाल्नुपर्ने अवस्था नभएको औषधि व्यवस्था विभागले जनाएको छ। औषधि कम्पनीहरूमा अझै तीन/चार महिनाका लागि पुग्ने औषधि मौज्दात रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए।

‘हामीले उत्पादक र व्यवसायीहरूसँग एक चरणको बैठक बसिसकेका छौँ। उहाँहरूले उपलब्ध गराएको स्टकको विवरणअनुसार ४ महिनालाई समस्या देखिएको छैन। केही औषधिमा भने तत्काल समस्या आउन सक्छ।,’ उनले भने । तत्काल आत्तिहाल्नु पर्ने अवस्था छैन तर कच्चा पदार्थ मा मूल्य बढी भएको भन्ने उत्पादकहरूको गुनासो छ। यस विषयमा हामी छलफल गरिरहेका छौँ। सरकारले यस विषयलाई गम्भीर रूपमा लिएको छ।

मास्क अभाव
कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिन थालेपछि बजारमा मास्कको माग बढेको छ । चीनमा मास्कको अभाव भएर तेस्रो मुलुकबाट लैजाने क्रम बढ्न थालेको छ । नेपाली बजारमा पाइने सर्जिकल मास्कमा पनि कोरोनाको असर परेको छ। सर्जिकल मास्कमा अभाव हुन थालेको छ भने दोब्बर मूल्य वृद्धि भएको छ।

विश्वमा कोरोनाको सङ्क्रमण बढेपछि यसअघि बजारमा सजिलै पाइने मास्कको समेत अभाव र मूल्य वृद्धि भएको हो । फार्मेसीमा काम गर्ने कर्मचारी बजारमै सर्जिकल मास्कको अभाव बढेको बताउँछन् । ‘कोरोना भाइरसको नाम नसुनिएका बेला सर्जिकल मास्क दिनमा २०–२५ वटासम्म बिक्री हुन्थ्यो,’ उनले भने, ‘त्रासमा वृद्धि भएसँगै दैनिक १००–१५० वटासम्म बिक्री हुने गरेको छ ।’ बजारमा पहिलेको तुलनामा अहिले मास्कको माग बढेको बताउँदै उनले उपभोक्ताको मागअनुसार मास्क उपलब्ध हुन नसकेको जानकारी दिए।

नेपाली बजारमा खपत हुने अन्य वस्तु जस्तै मास्क पनि चीनबाट आयात हुने गरेको थियो । तर, कोरोना भाइरसको सङ्क्रमणसँगै उताबाट मास्क आयात हुन छाड्यो । नेपाली बजारमा मास्कको अभाव र मूल्य वृद्धि भएको हो। कालोबजारीका लागि ठुला व्यापारीहरूले मास्क लुकाएर स्टकमा राखेका कारण पनि मूल्य वृद्धि भएको कतिपय सर्वसाधारणको भनाइ छ। बजारमा मास्क पाइन छोडेको छ।

अहिले नेपालमा दुई उद्योगले मात्र मास्क उत्पादन गरिरहेका छन् । तिनले यहाँको माग भने धान्न सकेका छैनन् । त्यसैले आयातकै भर पर्नुपरेको उद्योगीहरू बताउँछन् । बजारमा मास्कको माग बढेपछि खुद्रा व्यवसायीहरूले होलसेल मूल्यभन्दा तेब्बर मूल्य लिइरहेका छन् । यता औषधि व्यवस्था विभागमा पनि दोब्बर मूल्य लिएको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगुवाइमा अनुगमन, निरीक्षण गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए।

उनले भने,‘ केही व्यक्तिको गुनासो आएपछि हामीले निरीक्षण गर्‍यो। केही व्यक्तिले कालो बजारी गरेका रहेछन्। उनीहरूलाई हामीले कार्बाहि गर्‍यो। अव त्यस्तो गर्दैनन्, भन्ने सोचेका छौँ। उद्योग मन्त्रालयले मास्क उत्पादन गर्न निर्देशन दिइसकेको छ। अभाव नै भए सरकारले अन्यन्त्रबाट पनि ल्याउने छ।’

प्रतिक्रिया दिनुहोस्