जनस्वास्थ्य विधेयकमाथिको सैद्धान्तिक छलफल जारी



विराटनगर : प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ ।

सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य इन्दिरा राईले जनस्वास्थ्यसँग जोडिएको विधेयकमा समय नाघेका औषधि बिक्री एवं भण्डारणमा रोक लगाउन व्यवस्था हुनुपर्ने माग गरे ।

उनले यस्तो क्रियाकलाप गर्ने औषधि पसले वा कम्पनीलाई दण्डनीय बनाउनुपर्ने विधेयकले बोल्नुपर्ने धारणा राखे । सदस्य उमिता विश्वकर्माले ‘जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विधेयक ढिलो गरी आएको जनाउँदै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवालाई सुलभ एवं प्रभावकारी बनाउन विधेयकमा व्यवस्था हुनुपर्छ’ भने । सदस्य कुलप्रसाद सांँवाले विधेयक राम्रो भए पनि यसलाई अझ फराकिलो र गहकिलो बनाउन विषयगत समितिमा लैजानुपर्ने सुझाव दिए ।

सदस्य कुसुमकुमारी श्रेष्ठले वातावरण पनि जनस्वास्थ्यसँग जोडिने भएकोले वातावरणमा प्रदूषण फैलाउनेलाई कारवाहीको दायरामा ल्याउन विधेयक बोल्नुपर्ने भन्दै खाद्यान्न, जारका पानी वा बोतलका पानीको स्वच्छताका विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड दिए ।
सदस्य नारायणबहादुर मगरले विधेयक राम्रो लागे पनि स्वास्थ्य जस्तो जनताको नैसर्गिक अधिकारलाई स्थापित गराउन विधेयकलाई विषयगत समितिमा लैजानुपर्ने माग गे । सदस्य शान्ताकुमारी पौडेलले सरकारी अस्पताल दिन प्रतिदिन रोगी बन्दै गएको र निजी क्षेत्रका अस्पताल फस्टाउँदै गएकाले यसको कारण पत्ता लगाई विधेयकमा व्यवस्था हुनुपर्ने सुझाव दिए ।

सदस्य सावित्राकुमारी रेग्मीले स्वास्थ्य सेवामा जनताको पहुँच पुर्याउन विधेयकमा भएको व्यवस्था राम्रो भए पनि सरकारी स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवा कमजोर भएकाले यसमा सुधार ल्याउन विधेयकमा व्यवस्था हुनुपर्नेमा जोड दिए । सदस्य सूयर्माराज राईले शिक्षा, स्वास्थ्य र खाद्यान्नमा जनताको पहुँच पुर्याउन विधेयकमा स्पष्ट रुपमा व्यवस्था हुनुपर्ने भन्दै सरकारी अस्पतालको गुमिरहेको साखलाई फर्काउन विधेयकलाई विषयगत समितिमा लैजानुपर्नेमा जोड दिए ।

प्रदेशसभाका सदस्यले शून्य समयमा सदस्य खिनु लाम्बा लिम्बूले नेपाल भारतको सीमा व्यवस्थित गर्ने क्रममा झापाको काम सकिए पनि पूर्वी पहाडी जिल्लाको काम रोकिएकाले भौत्तिक निर्माणको काममा बाधा पुगेको बताए । सदस्य प्रताप प्रकाश हाङ्गामलेले ताप्लेजुङको मेरिदेङ सडकलाई प्रादेशिक सडकमा रुपान्तर भएर अहिले हाइड्रो सडकमा परिणत भएको र यसमा बाटो निर्माणमा सरकारले कति बजेटको व्यवस्था गरेको छ भनि सभालाई जानकारी दिनुपर्ने बताए ।

सदस्य सावित्री जोशीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म १० मात्र आइसियु रहेकाले थप ४० कक्षको व्यवस्था हुनुपर्ने माग गरिन् । प्रदेशसभाको अर्को बैठक यही फागुन १५ गते अपराह्न १ बजे छ । रासस

प्रतिक्रिया दिनुहोस्