न्यायाधीश एस मुरलीधरको सरुवा भएपछि राहुल गान्धीले सम्झिए बहादुर न्यायाधीश लोया



एजेन्सी : भारतको राजधानी दिल्लीमा चार दिनदेखि हिंसा जारी छ । उक्त हिंसाका क्रममा ज्यान गुमाउनेको संख्या ३२ पुगिसकेको छ ।

गएको बुधबार दिल्ली हिंसाका बारेमा सुनुवाई गरिरहेका दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरलाई सुनुवाईपछि सरुवा गरिएको थियो ।

नेताहरुको उत्तेजक भाषणमा प्रहरीले कारवाही नगरेको सम्बन्धी मुद्दामा सुनुवाई गर्दै न्यायाधीश मुरलीधरले केन्द्र सरकार र दिल्ली प्रहरीलाई सचेत गराएका थिए । उनले भाजपाका तीन नेता अनुराग ठाकुर, परवेश बर्मा र कपिल मिश्राविरुद्ध उजुरी दर्ता गर्नु पर्ने फैसला सुनाएका थिए ।

दिल्लीमा भड्किएको हिंसाको माहोल रहेका बेला कांग्रेस पूर्व अध्यक्ष राहुल गान्धीले चार दिनपछि आज ट्वीट गरेका छन् । राहुल गान्धीले आज बिहीबार बिहान ट्वीट गरेर न्यायाधीश बिएच लोया र उनको बहादुरीको सम्झना गरेका छन् ।

राहुलले ट्वीटमा लेखेका छन्, ‘आजको दिन म बहादुर न्यायाधीश लोयालाई सम्झिरहेको छु, जसलाई ट्रान्सफर गरिएको थिएन ।’

न्यायाधीश बिएच लोयाले गुजरातको सोहराबुद्दीनको झुठ झडपको अनुसन्धान गरिरहेका थिए । उनको सन् २०१४ को डिसेम्बरमा नागपुरमा हृदयघातका कारण निधन भएको थियो । त्यो बेला उनी आफ्ना एक सहयोगीकी छोरीको बिहेमा सरिक भएका थिए ।

२०१७ मा एक पत्रिकामा प्रकाशित भएको रिपोर्टमा न्यायाधीश लोयाको निधन शंकास्पद अवस्थामा भएको दाबी गरियो । त्यसपछि उनको निधनलाई लिएर विभिन्न प्रश्नहरु कायम छन् ।
२०१८ को अप्रिल १९ मा सर्वोच्च अदालतले यो मुद्दामा फैसला सुनाउँदै न्यायाधीश लोयाको निधन प्राकृतिक अवस्थामा भएको र यसमा अरु कुनै अनुसन्धानको खाँचो नरहेको बतायो ।

यसअघि बुधबार कांग्रेस अध्यक्ष सोनिया गान्धीले दिल्ली हिंसाबारे पत्रकार सम्मेलन गरेर गृहमन्त्री अमित शाहको राजीनामा मागेकी थिइन् ।

यसैबिच दिल्ली हिंसाप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टीफन डूजारिकले दिल्लीबाट आएका हिंसाका खबरले दुःखी बनाएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्